
काठमाडौं, ४ बैशाख । अभिनेता तथा मोडल पल शाहविरुद्ध जबरजस्ती करणीको आरोप लगाएकी नाबालिकाले अदालतमा बयान फेरेकी छन् । जिल्ला अदालत, तनहुँमा आइतबार बकपत्रका क्रममा पीडित नाबालिकाले आफूमाथि बलात्कार नभएको बताएकी हुन् ।
अदालतमा बहस गरेका एक कानून व्यवसायीका अनुसार पीडित नाबालिकाले जाहेरीमा उल्लेखित विवरणहरु ‘उक्साहट’मा भएको लेखिएको जिकिर गरेकी छन् ।
प्रहरीले जबरजस्ती विभिन्न कागजातहरुमा हस्ताक्षर गर्न लगाएको पनि बताएकी छन् । पीडित नाबालिकाको पक्षमा बहस गरेकी अधिवक्ता मोहना अन्सारीले ‘पुरुषार्थको विजय कसरी हुन्छ’ भन्ने विषयको आज आफू साक्षी भएको टिप्पणी गरेकी छन् ।
सरकारी वकिलको रोहवरमा उनले प्रहरीसँग दिएको बयानमा भने अभिनेता शाहले विभिन्न प्रलोभन देखाएर आफूमाथि पटकपटक जबरजस्ती करणी गरेको बताएकी थिइन् । ‘मध्यराति आएर शाहले विवाह गर्ने झुठो आशमा हुँदैन भन्दाभन्दै जबरजस्ती गरेका थिए’ उनले त्यतिबेला वयानमा भनेकी थिइन् ।
तर, अदालतमा बकपत्रका क्रममा भने उनले बयान फेरेकी हुन् । उनका बुबाले ११ फागुनमा जिल्ला प्रहरी कार्यालय, तनहुँमा जबरजस्ती करणीमा किटानी जाहेरी दिएका थिए । शाह अहिले पुर्पक्षका लागि जिल्ला कारागार, तनहुँमा छन् ।
‘प्रतिवादीले ब्वाइफ्रेण्ड गर्लफ्रेण्डबीच सम्बन्ध हुनु नर्मल हो, प्रेगनेन्ट भएको खण्डमा मात्र निजलाई स्वीकार गर्ने कुरा आउँछ भनी छलफलका क्रममा भनेको अडियो रेकर्डको विश्लेषण गर्दा प्रतिवादीले पीडितलाई करणी गरेको तथ्यलाई थप पुष्ट्याइँ हुन आएको देखिन्छ’ आदेशमा भनिएको थियो ।
