गलकोट, २४ चैत । गलकोट नगरपालिकाको सर्वोत्कृष्ट महिला उद्यमीमा गलकोट–९ छिस निवासी प्रेमकुमारी पुन सर्वोकृष्ट महिला उद्यमी घोषणा भएका छन् ।
नगर उपप्रमुख दायित्व ग्रामीण महिला उद्यम विकास कार्यक्रमअन्तर्गत टीका व्यावसायिक माहुरीपालन फार्मका सञ्चालक प्रेमकुमारी नगरपालिकाका महिला उद्यमीमध्ये सर्वोत्कृष्ट महिला उद्यमी २०७८ बन्न सफल भएकी हुन् ।
नगरपालिकाको आर्थिक सहयोग तथा दायित्व संस्थाको सहकार्यमा दुई वर्षदेखि नगरपालिकामा सञ्चालित नगर उपप्रमुख दायित्व ग्रामीण महिला उद्यम विकास कार्यक्रममा ८५ महिला उद्यमीलाई पछि पार्दै पुन सर्वोत्कृष्ट महिला उद्यमी घोषणा भएकी छन् ।
नगरपालिकाले आह्वान गरेको कार्यक्रममा सहभागी ८५ महिला उद्यमीमध्ये चार चरणको प्रतिस्पर्धामा महिलाको उद्यम योजना तथा लगानी प्रस्तुतीकरणका आधारमा पहिलो चरणमा ४० महिला उद्यमी, दोस्रो चरणमा २० महिला उद्यमी, तेस्रो चरणमा १० उत्कृष्ट उद्यमी हुँदै सर्वोकृष्ट महिला उद्यमी छनोट गरिएको छ ।
लामो समयदेखि मौरीपालन गर्दै आएका पुनको व्यावसायिक सफलता, उद्यम योजना, लगानी प्रस्तुतीकरण तथा सङ्घर्षका कारण सर्वोकृष्ट हुन सफल भएकी छन् । गलकोट नगरपालिकाको सर्वोकृष्ट महिला उद्यमीमा छनोट भएपछि पुनले आफू जीवनमा पहिलोपटक यति धेरै खुसी भएको भन्दै उनले आफ्नो व्यवसायलाई थप सफलतामा पु¥याउन हौसला मिलेको बताए ।
यसअघि छनोटमा परेका १० उत्कृष्ट उद्यमीमध्येबाट प्रतिस्पर्धाका आधारमा उद्यम योजना तथा लगानी प्रस्तुतका आधारमा पुन सर्वोकृष्ट महिला उद्यमका एपमा छनोट भएको नगर उपप्रमुख रेणुका काउचाले जानकारी दिए ।
उत्कृष्ट १० महिला उद्यमीबाट सर्वोत्कृष्ट महिला उद्यमी बन्दै पुनले १ लाख प्राप्त गरेकी छन् । यस्तै उत्कृष्ट १० महिलाले ५० हजारका दरले पुरस्कार प्राप्त गरे ।
बुधबार भएको प्रतिस्पर्धामा गलकोट नगरपालिकाभित्रका उत्कृष्ट १० महिला उद्यमीले आफ्नो समग्र उद्यम यात्रा, भावि योजना, उद्यम प्रयास र उद्यम योजनाको बारेमा आफ्नो प्रस्तुति राखेका थिए ।