काठमाडौं, ८ चैत । युक्रेन युद्धमा रुसले जैविक तथा रासायनिक अस्त्र प्रयोग गर्न सक्ने अमेरिकी राष्ट्रपति जो बाइडनले दाबी गरेका छन् ।
विगत २६ दिनका लडाइँमा युक्रेनी सेनाको चर्को प्रतिरोध अनि पश्चिमा समुदायको एकताबद्ध प्रतिक्रियाका कारण पुटिन ‘भित्तामा पुगेको’ भन्दै अब उनले झनै चर्का कारबाही गर्न सक्ने बाइडनले बताएका हुन् ।
त्यसैको तयारीस्वरूप रुसले युक्रेनमा जैविक तथा रासायनिक अस्त्र रहेका जस्ता झुटा खबर फैलाएको बाइडनले बताए । उनले अमेरिकाले युरोपमा जैविक तथा रासायनिक अस्त्र भण्डार गरेको वा युक्रेनमा त्यस्ता अस्त्र रहेको भन्ने रुसी दाबी पूरै असत्य भएको बताए ।
यस्ता दाबीले बरु रुस त्यस्ता अस्त्र प्रयोग गर्न लागिपरेको स्पष्ट सङ्केत गर्ने उनले बताए । उनले भने, ‘अमेरिकाले युरोपमा जैविक तथा रासायनिक अस्त्र भण्डार गरेको उनको दाबी बिल्कुल झुटा हो । म त्यसको ग्यारेन्टी गर्छु ।’ उनले थप भने, ‘युक्रेनमा त्यस्ता अस्त्र रहेको दाबी पनि गरिएका छन् । यी स्पष्ट सङ्केत हुन् उनी ती प्रयोग गर्न चाहन्छन् ।’
अगुवा व्यापारीहरूसँग कुरा गर्दै बाइडनले पुटिनले अमेरिकाविरुद्ध साइबर हमलाको तयारी गरिरहेको हुनसक्ने पनि बताए । आर्थिक प्रतिबन्धहरू लगाएको बदलामा रुसले त्यसो गर्न सक्ने उनको भनाइ थियो । – बिबिसीबाट