लेटाङ प्रकरण: पक्राउ परेका २२ जनामाथि अनुसन्धान हुँदै
अखबार टुडे
प्रकाशित:
२०७८, ८ चैत्र

विराटनगर, ८ चैत । मोरङको लेटाङमा स्थानीय बासिन्दा र प्रहरीबीच भएको झडपमा प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गएपछि संग्लन रहेको आशङ्कामा २२ जनालाई पक्राउ गरिएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार तोडफोड, आगजनी र हिंसात्मक गतिविधिमा संलग्न भएको आशङ्कामा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुमाथि अनुसन्धान भइरहेको जनाइएको छ ।

यस्तै, लेटाङमा अवस्था सामान्य बन्दै गए पनि हिजो बिहान ७ बजेदेखि लागेको कर्फ्यु अझै जारी छ । दाहालले अवस्था अहिलेको जस्तै सामान्य रहिरहे कर्फ्युलाई खुकुलो बनाउँदै लैजाने बताए ।

गएको आइतवार लेटाङ–५ को खेरुवामा रहेको विद्यालय क्षेत्र तनावग्रस्त बनेको थियो । गएको शुक्रवार होलीको दिन विद्यालयका शिक्षक मनोज पौडेलले एक छात्रालाई यौन दुर्व्यवहार गरेको विषयमा विवाद हुँदा स्थानीय बासिन्दा र प्रहरीबीच झडप भएको थियो । झडपमा प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गएको हो ।

यसअघि पनि छात्रामाथि दुर्व्यवहार गरेको आरोप लागेका शिक्षक पौडेल कारबाही हुनबाट जोगाएको भन्दै स्थानीय बासिन्दा आक्रोशित भएका थिए । स्थानीय बासिन्दाले आरोपित शिक्षक आफूहरुलाई जिम्मा लगाउन माग गरे पनि प्रहरीले स्थानीयलाई शिक्षक बुझाउन नमिल्ने बताएपछि झडप भएको थियो ।

प्रतिक्रिया