काठमाडौं, ६ चैत । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक ठम्मर विष्टलाई निलम्बन गरेको छ ।
प्रदेशसभा सदस्य पदबाट राजीनामा बुझाएपछि प्रदेशसभा दलका नेता तथा पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा फागुन ३ गते बसेको बैठकले उनलाई राजीनामा फिर्ता लिएर नियमित कार्यमा क्रियाशील हुन निर्देशन गरेको थियो ।
निरन्तर पार्टीको विधान विपरीत अभिव्यक्ति दिनु साथै निर्देशनको अवज्ञा गरेको भन्दै दलका नेता शाहीले आज एक प्रेस वक्तव्य जारी गरी प्रमुख सचेतक विष्टलाई पार्टीको सदस्यबाट निलम्बन गरिएको जानकारी दिएको हो ।
प्रमुख सचेतक विष्टले फागुन २७ गते प्रदेशसभा सदस्यबाट राजीनामा दिएकोे थियो । उनले चैत ४ गते सदस्य पद छाडेको सनाखत गरेपछि सभामुख राजबहादुर शाहीले उनको राजीनामा स्वीकृत गरेको थियो । विष्टको राजीनामा स्वीकृत र माओवादी केन्द्रको निलम्बनको सूचनासँगै उक्त पद रिक्त भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।