काठमाडौं, ३० फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्षी दल नेकपा एमालेका सांसद भीम रावलले दुई जिभ्रे कुरा गरेको आरोप लगाएका छन् ।
ओली सरकारको बेला रावल रक्षामन्त्री हुँदा एमसिसीको विरोध नगरेको तर अहिले विरोध गरेको भन्दै प्रधानमन्त्री देउवाले आक्रोशित व्यक्त गरेका हुन् ।
नुवाकोटको किस्पाङ गाउँपालिकाको भवन उद्घाटन कार्यक्रममा बोल्दै देउवाले भने, ‘आफू क्याबिनेटमा हुँदा पास गरेर संसदमा ल्याउने । मैले ओलीजीले ल्याएको प्रस्ताव पास गर्न खोज्दा किन टाउको दुखाउने?,’ उनले थप भने, ‘अरूलाई टाउको दुखेको छैन, भीम रावललाई टाउको दुख्यो । उहाँ त्यसबेला मन्त्री हुनुहुन्थ्यो । उसबेला दिमाग खुस्किएको थियो? थाहा छैन भन्ने ठान्नुहुन्छ ?’ ।
देउवाले त्यसबेला के हेरेर बसे?, किन विरोध गर्नुभएन?, राजीनामा किन दिनु भएन ? भन्दै रावललाई प्रश्न गरेका छन् । उनले अहिले आएर बोल्न लाज छैन? भन्दै आक्रोश व्यक्त गरे ।