गलत कामकारबाहीको भण्डाफोर गर्ने तर सरकारको समर्थन कायमै राख्ने जनमोर्चाको निर्णय
अखबार टुडे
प्रकाशित:
२०७८, २५ फाल्गुन

काठमाडौं, २५ फागुन । राष्ट्रिय जनमोर्चाले गठबन्धन सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ । एमसीसीको विषयमा असन्तुष्टि जनाउँदै केही समयअघि मात्र पाँच दलीय सत्ता गठबन्धनबाट बाहिरिएको जनमोर्चाले सरकारलाई दिएको समर्थन भने कायमै राख्ने निर्णय गरेको हो ।

यही २३ फागुनमा केन्द्रीय सचिवालयको बैठकले सो निर्णय गरेको बुधबार जारी विज्ञप्तिमा जनाइएको छ ।

पार्टीका महासचिव मनोज भट्टद्वारा जारीे विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान सरकारको निर्माण केपी ओलीले लादेको प्रतिगमन विरुद्धको संघर्षको सफलताको परिणाम भएको थियो । अहिले पनि प्रतिगमन विरुद्धको संघर्षको आवश्यकता र औचित्य कायमै छ । त्यसैले प्रतिगमनविरुद्ध बनेको सरकारलाई दिएको समर्थन फिर्ता लिने हो भने त्यसबाट देशको राजनीति गलत दिशातर्फ जाने र प्रतिगमन थप सुदृढ हुने खतरा देखिएकोले देशको राजनीतिलाई गलत दिशामा जान नदिनका लागि वर्तमान सरकारलाई दिएको समर्थनलाई कायम राख्ने निर्णय भएको छ । त्यो नीति प्रदेश सरकारहरुको हकमा पनि कायम रहने छ ।’

तर सरकारले एमसीसी सम्झौता संसदबाट पारित गराउन खेलेको भूमिका र सरकारका विभिन्न गलत काम कारबाहीको भण्डाफोर तथा विरोध भने कायमै रहने जनमोर्चाको भनाइ छ । आसन्न स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनसँग तालमेल गर्न सकिने पनि जनमोर्चाले जनाएको छ ।

प्रतिक्रिया