काठमाडौँ, २३ फागुन । चिकित्सा शिक्षा आयोगले विराटनगरस्थित नोबेल मेडिकल कलेजलाई कारबाहीको प्रक्रिया अगाडि बढाएको छ ।
प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको सोमबार बसेको बैठकमा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले एमबिबिएस अध्ययनका लागि अतिरिक्त शुल्क लिएको र विद्यार्थीलाई अनावश्यक तनाव दिएको भन्दै कारबाही प्रक्रिया अगाडि बढाएको बताएका हुन् ।
उनले कलेजको एमबिबिएस कोटा घटाउने, कोटा खारेज गर्ने तथा सम्बन्धन खारेज गर्ने जस्ता कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको बताए । कलेजले विद्यार्थीबाट अतिरिक्त शुल्क उठाउनुको साथै विद्यार्थीलाई अनाश्यक तनाव दिएकोले कारबाही प्रक्रिया अगाडि बढाएका उनले बताए । उनले आगामी चैत ४ गते बस्ने बोर्ड बैठकले कारबाहीबारे निर्णय गर्ने बताए ।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव हरि लम्सालले कलेजले विद्यार्थी समस्या एक हप्ताभित्र समाधान नगरे कारबाही प्रक्रिया अघि बढ्ने बताए ।
यस्तै, समिति सभापति जयपुरी घर्तीले मेडिकल कलेजले कानूनले तोकेको भन्दा बढी नै शुल्क लिने गरे तापनि नियन्त्रण गर्न कठिनाई भएको बताए । उनले कलेजले छात्रावास र अनेक बहानामा अतिरिक्त शुल्क लिने गरेको बताए । सभापति घर्तीले तीन महिना पढाइ छुटेका विद्यार्थीलाई पुनः कक्षा सञ्चालन गर्न कलेजलाई निर्देशन दिए ।
कलेजमा अध्ययनरत १० विद्यार्थीले समितिमा कलेजले आफूहरुसँग अतिरिक्त शुल्क मागेको र नदिएपछि विगत तीन महिनादेखि पठनपाठन गर्न नदिएको भन्दै उजुरी दिएका छन् । आयोगले उपत्यका बाहिर एमबिबिएस अध्ययनका लागि ४४ लाख ३६ हजार रुपियाँ तोकेको छ ।
समिति सदस्य तथा पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कानुन प्रावधान खुकुलो बनाएर विद्यार्थीलाई अन्य कलेजमा भर्ना गर्नुपर्ने बताए । सांसद एकल मियाँले मुलुकका कानुन, ऐन नमान्ने मेडिकल कलेजलाई कारबाही गर्नुपर्ने बताए ।
समिति बैठकमा सांसदले आयोगले तोकेको भन्दा बढी शुल्क लिन खोज्ने नोबेल कलेजलाई कारबाही नगर्ने आयोग पदाधिकारीलाई कारबाही हुनुपर्ने बताए ।