एमसिसीका कारण गठबन्धन जोगिएको अध्यक्ष प्रचण्डको भनाइ
अखबार टुडे
प्रकाशित:
२०७८, २० फाल्गुन

काठमाडौं, २० फागुन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसीको सम्बन्धमा पछिल्लो पटक आफूले लिएको निर्णय देश र जनताको हितमा रहेको बताएका छन् ।

आजदेखि सुरु भएको बहुप्रतिक्षित केन्द्रीय समितिको बैठकमा बोल्दै प्रचण्डले प्रतिमगन विरुद्धको अभियानका क्रममा गठन भएको गठबन्धनसमेत टुट्ने अवस्था आएपछि एमसिसीका सम्बन्धमा व्याख्यात्मक घोषणा गररै भए पनि सहमति जुटाइएको र देशलाई जोगाउन सफल भएको बताएका हुन् ।

अध्यक्ष प्रचण्डले माओवादी परिमार्जन विना एमसिसी पास गर्ने पक्षमा नभए पनि गठबन्धनलाई जोगाउनका लागि व्याख्यात्मक घोषणा गर्न सहमत भएको एवं एमाले र सो पार्टीका अध्यक्ष केपी ओलीको चाहना गठबन्धन भत्काउनेतर्फ केन्द्रित भएकाले त्यसलाई रोकिएको स्पष्ट पारे ।

एमसिसीका कारण गठबन्धनभित्र विवाद भए पनि त्यसलाई अन्तिममा मिलाइएको र गठबन्धन जोगिएको अध्यक्ष प्रचण्डको भनाइ रहेको थियो । व्याख्यात्मक घोषणासहितको एमसिसी अमेरिकाले स्वीकार गरेको दाबी गर्दै उनले कार्यान्वयनको क्रममा कुनै समस्या देखिए त्यसलाई सूचना दिएर एकतर्फी रुपमा खारेज गर्न सकिने धारणा राखे ।

‘नेपालको सार्वभौमिकतालाई कमजोर पार्ने कुनै पनि व्यवस्था र प्रावधान स्वीकार्न सकिँदैन । प्राकृतिक स्रोतसाधन नेपालको बाहेक अरुको हुन सक्दैन । लेखापरीक्षण लगायतका विषय नेपालले नै गर्न पाउनुपर्छ भन्नेमा हामी सहमत छौँ’, उनले भने ।
माओवादी बिनै एमसिसी पारित गर्नका लागि सभामुखलाई महाभियोग लगाउने तयारी भएकाले आफूहरु व्याख्यात्मक घोषणाका लागि तयार भएको उनको भनाइ थियो ।

व्याख्यात्मक टिप्पणीबारे विज्ञहरुसँग पनि लामो छलफल गरेको स्मरण गर्दै अन्तरराष्ट्रिय सम्बन्धका जानकारले दिएको सुझावका आधारमा निष्कर्ष निकालिएको अध्यक्ष प्रचण्डको भनाइ थियो । शान्ति प्रक्रिया टुङ्गिएको अवस्था भएको भए एमसिसीका बारेमा फरक प्रकारको निर्णय लिन सकिने अवस्था आउने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियालाई टुङ्गोमा पुग्न नदिन अझै पनि षड्यन्त्र भइरहेको बताए ।

बैठकमा माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पार्टी निर्णय विपरीत गएर एमसिसी सम्झौता अनुमोदन गर्दा त्यसबाट राम्रो प्रभाव नपरेको धारणा राखे । उनले एमसिसीका सम्बन्धमा गरिएको निर्णयले पार्टीलाई क्षति पु¥याउने बताए । बैठकमा पार्टी निर्णय विपरीत एमसिसी अनुमोदन गरिएको भन्दै केही नेताले फरक मत राखेका थिए ।

माओवादीको केन्द्रीय समितिको अर्को बैठक आगामी आइतबार बस्ने गरी स्थगित भएको छ । आजदेखि सुरु भएको बैठकमा समसामयिक राजनीतिक विषय, हालै प्रतिनिधिसभाबाट पारित भएको अमेरिकी सहयोग सम्झौता एमसिसी, पार्टीका नेताहरुको पद विभाजन लगायतका विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया