
काठमाडौं, १९ फागुन । नेपालले रुसले युक्रेनमा गरेको आक्रमणको निन्दा प्रस्तावको पक्षमा मतदान गरेको छ ।
संयुक्त राष्ट्रसङ्घको महासभामा मतदानमा नेपालसहित एक सय ४१ सदस्य देशले युक्रेनमाथि भएको आक्रमणको विरोधमा मत दिएका हुन् ।
तर चीन, भारतलगायतका ३५ देश भने मतदानमा तटस्थ बसेका छन् । यस्तै, सिरिया र उत्तर कोरियासहित पाँच देशले रुसको पक्षमा मत गरेका छन् । महासभाले पारित गरेको प्रस्ताव बाध्यकारी नहुने भए पनि यसले कूटनीतिक रूपमा रूसलाई विश्वमा एक्ल्याएको छ ।
न्युयोेर्कमा रहेको संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा गएराति मतदान भएको थियो । संयुक्त राष्ट्र सङ्घमा १ सय ९३ सदस्य देश छन् । प्रस्तावमा ‘राष्ट्र सङ्घको बडापत्रको धारा २ (४) को उल्लङ्घन गर्दै युक्रेनविरुद्ध रुसी सङ्घले गरेको आक्रमणको कडा शब्दमा निन्दा गर्दछ’ भन्ने उल्लेख छ । यसअघि राष्ट्र सङ्घीय मानवअधिकार परिषदमा पनि नेपालले युक्रेनको पक्षमा मतदान गरेको थियो । परिषदमा ४७ देश सदस्य छन् ।
