किभका बासिन्दालाई घर छाड्न रुसको आह्वान, युक्रेनले भन्यो, ‘आत्मसमर्पण हुँदैन’
अखबार टुडे
प्रकाशित:
२०७८, १७ फाल्गुन

काठमाडौं, १७ फागुन । रुसको रक्षा मन्त्रालयले किभका बासिन्दाहरूलाई एक चेतावनी जारी गर्दै आफूहरूले युक्रेनी राजधानीमा ‘लक्षित हमला’ गर्न लागेको जनाएको छ ।

बिबिसीले जनाएअनुसार मंगलवार अपरान्ह एक वक्तव्य जारी गर्दै रुसी अधिकारीहरूले उनीहरूको फौजले ‘किभस्थित युक्रेनी सुरक्षा सेवा तथा मुख्य साइअप्सका प्राविधिक केन्द्र’हरूमा ‘लक्षित हमला’ गर्ने तयारी गरिरहेको बताएका छन् ।

‘राष्ट्रवादीहरूद्वारा रुसलाई भड्काउन प्रयोग भइरहेका युक्रेनी नागरिक तथा रिले स्टेशन नजिक बसोबास गर्ने किभका बासिन्दाहरूलाई आफ्ना घर छाडेर जान हामी आह्वान गर्छौँ’ उक्त वक्तव्यमा उल्लेख गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

रुसविरुद्ध ‘सूचना युद्ध’ रोक्न यी हमला गर्न लागिएको रुसी अधिकारीहरूको दाबी छ । यसैबीच युक्रेनी रक्षामन्त्रीले चाहिँ रुसको सम्भावित ‘मनोवैज्ञानिक हमला’बारे सजग गराएका छन् । फेसबुकमा लेख्दै उनले रुसले सञ्चार अवरुद्ध पार्ने योजना बनाइरहेको बताएका छन् ।

‘त्यसपछि युक्रेनी सेना तथा राजनीतिक नेतृत्वले आत्मसमर्पणको निम्ति सहमति जनाएका जस्ता झुटा समाचार व्यापक रूपमा फैलाइनेछ’ उनले लेखेका छन् । ‘त्यस्ता झुटा समाचारलाई स्थापित गर्न नक्कली भिडिओ वा हस्ताक्षर गरिएका जाली कागज देखाइने छन्’ युक्रेनले भनेको छ । उनले कुनै ‘आत्मसमर्पण’ नहुने बरु केवल ‘विजय’ हुने पनि बताएका छन् ।

प्रतिक्रिया