
काठमाडौं, १२ फागुन । नेपालको संसदमा छलफलको तयारीमा रहेको अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौतामाथि चीनले दोस्रो पटक प्रतिक्रियो जनाएको छ ।
बुधबारको नियमित पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले अमेरिकाले उपहार भनिरहेको यो सम्झौता उपहार हो कि पान्डोराज बक्स (समस्याको पोको) भनी प्रश्न गरेकी हुन् ।
सम्मेलनमा उनले भनिन्, ‘अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले एमसिसी पास नभए द्वीपक्षीय सम्बन्धमा असर पर्ने भनेको सुनें । काठमाडौंस्थित अमेरिकी दूतावासले ५०० मिलियन डलरको अनुदानलाई अमेरिकी जनताका तर्फबाट नेपालीलाई उपहार भनेको छ । मलाई अचम्म लागेको छ उपहार कहिलेदेखि अल्टिमेटमको प्याकेजसँग जोडिएर आउन थालेछ ?, कसैले त्यस्तो उपहार कसरी स्वीकार्न सक्छ?, यो उपहार हो कि पान्डोराज बक्स?’ ।
अन्तर्राष्ट्रिय विकास सहायता दिँदा परस्पर सम्मान, समानता, कुनै देशको सार्वभौमिकता र त्यहाँका नागरिकको चासोको विषयमा आधारित हुनुपर्ने चीनको विश्वास रहेको उनले बताइन् । सहायतासँग कुनै मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप, राजनीतिक स्वार्थ, धम्कीपूर्ण कूटनीति जोडिन नहुने उनको भनाइ थियो ।
