एमसिसीमा सहमति जुटाउन प्रचण्ड र ओलीसँग गृहमन्त्रीको छुट्टाछुट्टै भेट
अखबार टुडे
प्रकाशित:
२०७८, ११ फाल्गुन

काठमाडौं, ११ फागुन । संसदमा टेबल गरिएको अमेरिकी सहयोग एमसिसी अनुमोदन गर्नेलगायत विषयमा विचार–विमर्श गर्न गृहमन्त्री बालकृष्ण खाँणले आज सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गरेको छ ।

गृहमन्त्री खाँणले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग उनकै निवास खुमलटार र एमाले अध्यक्ष ओलीसँग बालकोटमा पुगी भेटवार्ता गरेको गृहमन्त्रीको सचिवालयले पुष्टि गरेको छ । भेटकामा मुलुकको समसामयिक राजनीतिक परिस्थिति, प्रतिनिधिसभाको गतिरोध खुलाउने र एमसिसी अनुमोदन गर्नेलगायत विषयमा विचार–विमर्श भएको बताइएको छ ।

प्रतिनिधिसभामा यही फागुन ८ गते एमसिसी प्रस्तुत भएपछि सत्तारूढ दल र प्रतिपक्षी दलहरुबीच त्यसलाई पारित गराउन घनिभूत छलफल भइरहेको छ । एमसिसी सम्झौताअनुसार यही फागुन १६ गतेभित्र संसद्बाट अनुमोदन गर्नुपर्ने समय निर्धारित छ । सरकारले सो अवधिभित्र अनुमोदनका लागि सबै राजनीतिक दलको सहमति जुटाउने प्रयास जारी राखेको छ ।

प्रतिक्रिया