काठमाडौं, ६ फागुन। नेकपा एकीकृत समाजवादीले एमसीसी सम्झौतालाई संसद्मा टेबल गर्न दिने निर्णय गरेको छ । शनिबार बसेको स्थायी समति बैठकले सो निर्णय गरेको हो ।
तर, त्यसका लागि नेकपा एमालेले गरिरहेको संसद गतिरोध हट्नुपर्ने एकीकृत समाजवादीको सर्त छ । साथै, प्रवक्ता जगनाथ खतिवडाका अनुसार बैठकले यथास्थितिमा एमसीसी अनुमोदन गर्न नसकिने निर्णय गरेको छ । उनले भने, ‘यथास्थितिमा एमसीसी पारित गर्न सकिन्न । संशोधन नगरी हुन्न । त्यसबारे थप निर्णय लिने अधिकार सचिवालयलाई दिएका छौँ ।’
एमसीसीबारे धारणा बनाउन बसेको बैठकको निर्णयबारे जानकारी गराउँदै सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले भनिन्, ‘स्थायी समिति बैठकले एमसीसी सम्झौतलाई संसद्मा टेबल गर्नबाट नरोक्ने निर्णय भएको छ ।’
एमसीसीबारे सत्ता गठबन्धनमा विवाद बढ्दै गइरहेको अवस्था एकीकृत समाजवादीले टेबल गर्न नरोक्ने निर्णय गरेको हो । गठबन्धन दलभित्रै एमसीसीबारे विवादका कारण संसद्मा टेबल हुन सकेको छैन । यसअघि बसेको सर्वदलीय बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसीबारे निर्णय गर्न शनिबारसम्म समय मागका थिए ।