काठमाडौं, ६ फागुन (एजेन्सी)। ऐतिहासिक फैसला सुनाउँदै भारतको विशेष अदालतले ३८ जनालाई फाँसीको सजाए सुनाएको छ ।
सन् २००८ मा अहमदाबादमा भएको श्रृङ्खलाबद्ध विस्फोट मुद्दाको सुनुवाइ गर्दै विशेष अदालतले ४९ दोषीमध्ये ३८ जनालाई फाँसीको सजाए सुनाएको छ भने ११ जनालाई जन्मकैदको सजाय सुनाएको हो ।
अहमदावाद बम विष्फोटमा ७७ जना आरोपी थिए । जसमध्ये ४९ जना दोषी ठहर भएका हुन् भने २८ जनाले भने सफाइ पाएका छन् ।
१३ वर्षदेखि चलेको सुनुवाइको क्रममा १ हजार १६३ जनाको बयान लिइएको थियो । प्रहरी र कानुन व्यवसायीहरुले ६ हजार भन्दा बढी प्रमाण जुटाएका थिए ।
अहमदावादको विशेष अदालतका न्यायाधीश अम्बालाल पटेलले ६ हजार ७५२ पानाको फैसलामा ४९ आरोपीलाई दोषी ठहर गर्दै सजाय सुनाएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
यो घटनामा मृत्यु भएका परिवारका सदस्यलाई एक लाख, गम्भीर घाइतेलाई ५० हजार र सामान्य घाइतेलाई २५ हजार रुपैयाँको दरले राहत दिन पनि अदालतले आदेश दिएको छ ।
सो श्रृङ्खलाबद्ध विस्फोटमा ५६ जनाको मृत्यु भएको थियो भने २०० बढी मानिस घाइते भएका थिए । सो घटना २६ जुलाई २००८ मा भएको थियो । गुजरातको अहमदाबाद सहरमा ७० मिनेटभित्रै एकपछि अर्को २१ वटा बम विस्फोट भएका थिए ।
इन्डियन मुजाहिद्दीन र हरकत–उल–जिहाद–अल–इस्लामी नामक चरमपन्थी संगठनले विस्फोटको जिम्मेवारी लिएको थियो ।