काठमाडौं, २८ माघ । चार देशीय टी–२० क्रिकेट शृङ्खला अन्तर्गत ओमानसँगको पहिलो खेलमा नेपाल ६ विकेटले विजय भएको छ ।
अल अमिरात क्रिकेट मैदानमा भएको खेलमा नेपालले १९ ओभर ३ बलमा ४ विकेट गुमाउदै ओमानले दिएको १ सय ३६ रनको लक्ष्य भेटाएको हो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले नटआउट ७३ रन बनाएसँगै टी–२० करिअरमा आफ्नो पाँच सय रन पूरा गरेका छन् । आजको खेलसँगै दीपेन्द्रसिंह ऐरीले उनी यो उपलब्धि हात पार्ने नेपालको पहिलो खेलाडी पनि बनेका छन् । यसअघि पारस खड्का र ज्ञानेन्द्र मल्लले यो उपलब्धि हात पारेका थिए । यस्तै आरिफ शेखले २५ रनको योगदान गरे ।
यस्तै आजको खेलबाट कप्तानमा डेब्यु गरेका सन्दीप लामिछानेले पहिलो खेलमा नै सफलता हात पार्न पनि सफल भएका छन् ।
यसअघि ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ३५ रन बनायो । उसका लागि जेशान मक्सुदले नटआउट ४३ रन बनाए । यस्तै मोहम्मद नदीमले ३१ रनको योगदान गरे ।
बलिङतर्फ ओमानका लागि कलेमुल्लाहले दुई विकेट लिए । नेपालकातर्फबाट अविनाश बोहराले तीन विकेट लिए । यस्तै कप्तान सन्दीप लामिछाने, कमल ऐरी र आरिफ शेखले एक–एक विकेट लिए ।
विश्व कप क्रिकेटको ग्लोबल छनोटअघि नेपालले आयरल्यान्ड, ओमान र यूएईसँग टी–२० क्रिकेट शृङ्खला खेल्न लागेको हो ।