काठमाडौं, २७ माघ । सरकारलाई राजस्व नबुझाउने दुई होटललाई बन्द गराउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ ।
नियमानुसार राज्यलाई बुझाउनुपर्ने कर बापतको करोडौँ रुपैयाँ नबुझाउने ‘ह्याप्पी आवर प्राली काठमाडौं’ र नेपालगञ्जरहको होटल ड्रिमल्याडलाई बन्द गराउन पत्राचार गरेको हो ।
मन्त्रालयले मन्त्रिस्तरिय निर्णय गर्दै होटल र आधुनिक मेशिन वा उपकरणको माध्यमबाट मात्र खेलाइने खेल सञ्चालन बन्द गर्न भनेको छ ।
गत तीन वर्षमा राज्यलाई तिर्नुपर्ने ३८ करोड १० लाख ४५ हजार ६३८ रुपैयाँ रोयल्टी तथा इजाजत नविकरण शुल्क नबुझाएकाले बन्द गर्न पत्राचार गरिएको हो ।
यस्तै विभागबाट वर्गीकरण नै नभएको ड्रिमल्याण्ड होटलले आधुनिक मेशिन र उपकरणको माध्यमबाट खोलाइने खेल खोलाइएको भन्ने बुझिन आएकाले होटल र खेल बन्द गर्न पनि निर्णय भएको मन्त्रालयले जनाएको छ ।
यसअघि मन्त्रालयले काठमाडौंको केन्द्रमा रहेको पाँचतारे होटल याक एण्ड यतिको पाँचतार वर्गीकरण र क्यासिनोको इजाजत रद्द गरेको छ ।
होटलले ४२ करोड रोयल्टी नबुझाएकाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले सो होटलको पाँचतारे वर्गिकरण र क्यासिनोको इजाजजपत्र रद गरिदिएका हुन् ।