काठमाडौं उपत्यकामा जोरबिजोर प्रणाली हट्यो, फागुन १ गते विद्यालय सञ्चालन गर्न पाइने
अखबार टुडे
प्रकाशित:
२०७८, २३ माघ

काठमाडौं, २३ माघ । काठमाडौं उपत्यकामा सवारी साधनमा लगाइएको जोर बिजोर प्रणाली हटेको छ । साथै, फागुन १ गतेदेखि भौतिक उपस्थितिमै विद्यालयहरु सञ्चालनमा आउने भएको छ ।

सोमबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को सिफारिसअनुसार उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) को प्रशासन कार्यालयले आइतबार मध्यराति सवारी साधानमा जोरबिजोर हटाउने निर्णय गरेको हो ।

यस्तै, फागुन १ गतेदेखि स्कुल, कलेज, ट्युसन सेन्टरलगायतका शैक्षिक क्रियाकलाप सञ्चालन गर्न सकिनेछ ।

तर, १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा भने स्थानीय तहको समन्वयमा आलोपालो वा सिफ्ट प्रणालीमा कक्षा सञ्चालनको व्यवस्था मिलाउनुपर्ने भनिएको छ । सबै परीक्षाहरु जेड आकारमा फागुन १ गतेदेखि सञ्चालन गर्न सकिने सूचनामा उल्लेख छ ।

यस्तै कोरोनाको रोकथाम, नियन्त्रण, उपचार र आम नागरिकले जनस्वास्थ्यको पूर्ण रुपमा पालना गर्नुपर्ने, अनिवार्य रुपमा मास्कको प्रयोग गर्नु पर्ने, घरबाट बाहिर निस्किँदा अनिवार्य रुपमा खोपकार्ड (मोबाइलमा भए पनि हुने) राख्नु पर्नेछ ।

यस्तै, सरकारी कार्यालय र व्यवसायिक स्थलहरुमा मास्कको अनिवार्य प्रयोग गर्नु पर्नेछ भने मास्क नलगाइ आएमा व्यवस्थापकले पाँच सय रुपैयाँ लिई मास्क उपलब्ध गराउन सूचनामा उल्लेख गरेको छ । साथै मास्क नलगाउनेलाई कार्यालय वा पसलमा प्रवेश नदिन पनि प्रशासनले आग्रह गरेको छ ।
यस्तै, सार्वजनिक तथा निजी सेवा प्रदायकलाई सम्भव भएसम्म विद्युतीय प्रणालीमार्फत सेवा दिन सूचनामा उल्लेख गरिएको छ भने उक्त आदेश पालना अवज्ञा गर्ने वा बाधा पु¥याउने व्यक्ति वा संस्थालाई संक्रामक रोग ऐन, २०२० र स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारबाही र सजाय हुने प्रशासनले जनाएको छ ।

त्यसैगरी, सपिङ मल, डिपार्टमेन्टल स्टोर, सुपर मार्केट र सबै प्रकारका पसल एक पटकमा २० जनाभन्दा बढी भेला नहुने भनिएको छ भने पार्टी प्यालेसमा एक पटकमा कुल क्षमताको एक चौथाईमा बनढ्ने गरी पूर्ण खोप लगाएका २० जनामात्र उपस्थित गराउनसमेत प्रशासनले आग्रह गरेको छ ।

प्रतिक्रिया