एमसीसीबाट एमालेको पन्छिने प्रयास, संसद सञ्चालन गर्न सभामुखको बहिर्गमन बटमलाइन
अखबार टुडे
प्रकाशित:
२०७८, २३ माघ

काठमाडौं, २३ माघ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले एमसीसी बारेमा आफूलाई तटस्थ उभ्याउने प्रयास गरेको छ । एमसीसीबारे सत्तापक्षमै स्पष्टता जरुरी रहेको बताएपछि एमालेले आफूलाई जोगाउन खोजेको हो ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलको बैठकमा नेकपा एमालेले एमसीसीबारे सत्तापक्षबाट स्पष्ट दृष्टिकोण आएपछि मात्रै पार्टीले आफ्नो धारणा ल्याउने बताएको छ । सत्तापक्षभित्रै एमसीसीबारे समान धारणा नरहेको एमालेको भनाइ छ ।
यसअघि एमाले सरकारमा हुँदा पटक पटक एमसीसी पारित हुनुपर्ने धारणा राख्दै आएको थियो । तर, सत्ताबाट बाहिरिएपछि भने एमालेले एमसीसीबारे सत्तापक्षलाई नै दोष थोपरेर पन्छिने प्रयास गर्दै गरेको छ ।

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो । छलफलपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै एमाले महासचिव शंकर पोखरेलले एमसीसीबारे सत्तापक्षले स्पष्ट दृष्टिकोण सार्वजनिक नगरेसम्म एमाले नहतारिने बताए ।

उनले भने, ‘सरकारले स्पष्ट पारिसकेपछि हामी स्पष्ट दृष्टिकोणका साथ उपस्थित हुन्छौँ । सत्तापक्ष नै अनिर्णित भएर बस्ने कुरा राम्रो होइन । सत्तापक्षले स्पष्ट दृष्टिकोण सार्वजनिक नगरेसम्म एमाले हतारिँदैन ।’

यस्तै, एमालेले सभामुख अग्निप्रसाद सापकोटाको बहिर्गमनलाई बटमलाइन बनाएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलको बैठकमा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको बहिर्गमनलाई मुख्य एजेण्डा बनाएको हो ।

बैठकमा सभामुखको भूमिकाका कारण प्रतिनिधिसभामा उपस्थित हुन असमर्थ भएको एमालेले बताएको थियो । आफूहरुको माग सम्बोधन नभएसम्म प्रतिनिधिसभा बैठक चल्न नसक्ने पनि एमालेले स्पष्ट गरेको छ ।

‘हामी फेरि पनि सत्ता पक्षलाई आग्रह गर्न चाहन्छौँ । हाम्रो मुद्दाहरूलाई सम्बोधन गरोस्’ बैठकपछि एमाले पोखरेलले भने, ‘१४ जना गैरसांसदलाई प्रतिनिधिसभामा नराख्न हामीले बैठकमा भनेका छौँ । सांसदहरु बाटमात्रै प्रतिनिधि चल्न सक्छ । दलले कारबाही गरेको कुरालाई सभामुखले मान्नुपर्छ हैन भने मार्ग प्रशस्त गर्नुपर्छ भनेर हामीले राखेका छौँ ।’

प्रतिक्रिया