आउँदो महिनादेखि रेल चलाउने तयारी, सामान्यको ७० र एसी सिटमा ३०० भाडा
अखबार टुडे
प्रकाशित:
२०७८, २१ माघ

काठमाडौं, २१ माघ । धनुषाको कुर्थाबाट भारतको जयनगरसम्म आउँदो महिनादेखि रेल सेवा सञ्चालनमा आउने भएको छ ।
सो खबरले यतिबेला धनुषाको जनकपुरधाम उपमहानगरपालिका, औरही गाउँपालिका र जनकनन्दनी गाउँपालिकासहितको विभिन्न स्थानीय तहका एक दर्जन गाउँका स्थानीयवासीमा खुशीयाली छाएको छ ।

रेल्वे लिकको काम सकिएको लामो समयसम्म पनि रेल सेवा सञ्चालन हुन सकेको छ्रैन् । रेल आज चल्छ, भोलि चल्छ भन्दै निरास भएर बसिरहेका स्थानीयवासीमा अबको केही दिनमै रेल चल्ने पछिल्लो खबरले उत्साहित बनाएको धनुषाको औरही गाउँपालिका–६ का विशोलाल यादवले बताए ।

विसं २०७७ असोज २ गते भारतीय कम्पनी कर्पाेरेशनबाट रु ८४ करोड ६५ लाखमा खरिद गरिएको दुई सेट रेल बडो तामझामका साथ जयनगरबाट जनकपुर ल्याइएर धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा पार्किङ गरी त्रिपाल ओढाएर राखिएको छ ।
भारतको जयनगरबाट धनुषाको कुर्थासम्म करिब ३५ किलोमिटर चल्ने सो रेल सेवाको नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा उद्घाटन गर्ने तयारी भएको नेपाल रेल्वे कम्पनीले जनाएको छ ।

‘हामीले सन् २०२२ को फेब्रुअरी तेस्रो साताबाट जयनगर–कुर्था रेल सेवा सञ्चालन गर्ने तयारी गरेका छौँ’, नेपाल रेल्वे कम्पनीमा महाप्रबन्धक निरञ्जन झाले भने, ‘रेल चलाउन अब कुनै समस्या छैन, केवल उद्घाटन हुनमात्र बाँकी छ ।’ दुवै देशका प्रधानमन्त्रीले संयुक्तरूपमा रेल सेवाको उद्घाटन गरेपछि नियमितरूपमा रेल सञ्चालन हुने महाप्रबन्धक झाको भनाइ छ ।
‘कुन मितिबाट रेल चल्छ भन्ने ठ्याक्कै म अहिले भन्न सक्दिनँ’, महाप्रबन्धक झाले भने,’ तर हामीले फेब्रुअरीको दोस्रो वा तेस्रो साताबाट रेल चलाउने तयारी गरेका छौँ’, उनले भने ।

उनले उद्घाटनपछि सुरुको पहिलो १५ दिन दिनको एकपटक आउने र जाने गरी रेल चलाउने बताए । त्यसपछि यात्रुको चाप र आवश्यकता हेरेर दिनमा दुई–तीनपटकसम्म पनि रेल चलाउन सकिने उनको भनाई छ । रेल चलेपछि तत्कालका लागि जयनगरबाट कुर्थासम्म समान्य सिटमा रु ७० र एसी सिटमा रु ३०० भाडा निर्धारण गरिएको उनको भनाइ छ ।

प्रतिक्रिया