काठमाडौं, २० माघ । कोभिड–१९ महामारीले नराम्ररी थलिएको मुलुकको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिँदैछ । कोभिडको तेस्रो लहरसम्म आइपुग्दा महामारीको असहज परिस्थितिमा पनि विदेशी पर्यटक आगमन सकारात्मक पाइएको छ ।
कोभिडको पछिल्लो ओमिक्रोन भेरियन्टको त्रासले पर्यटन क्षेत्र निकै सशङ्कित भए पनि यसको प्रभाव कम रहेको र कोभिड विरुद्धको खोप आधाभन्दा बढी जनसङ्ख्याले लगाइसकेकाले पर्यटन क्षेत्र विस्तारै चलायमान हुने देखिन्छ । पर्यटक आगमनको पछिल्लो आँकडाले पनि यसलाई पुष्टि गर्छ ।
अध्यागमन विभागलाई उधृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०२२ को जनवरी महिनामा १६ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । जनवरीमा हवाई मार्ग भएर १६ हजार ९७५ विदेशी पर्यटक नेपाल आएका हुन् । अघिल्लो सन् २०२१ को सोही महिनामा आठ हजार ८७४ विदेशी पर्यटक नेपाल आएका थिए ।
जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा ९१.३ प्रतिशत बढी हो । जनवरीमा नेपालबाट १७ हजार ९८४ विदेशी बाहिरिएका छन् ।
विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत विदेशी पर्यटक आवागमनको यो सुधारले पर्यटन क्षेत्रलाई केही हदसम्म सकारात्मक ऊर्जा प्रदान गरेको पर्यटन बोर्डको बुझाइ छ । बोर्डका निर्देशक मणिराज लामिछानेले महामारीको असहज परिस्थितिका बीच अहिलेको पर्यटक आगमनलाई सुधारात्मक र सकारात्मक मान्नुहुन्छ ।
यो पटक सार्क मुलुकबाट सबैभन्दा बढी पाँच हजार ५०५ पर्यटक आएका छन् । यसमा पनि छिमेकी मुलुक भारतबाट सबैभन्दा धेरै तीन हजार ९१६ र बङ्गलादेशबाट एक हजार २३१ पर्यटक नेपाल भित्रिएका छन् । युरोपबाट तीन हजार ५२७, एसिया तथा अन्य मुलुकबाट एक हजार ११४, अमेरिका र क्यानाडाबाट तीन हजार ६१८, अष्ट्रेलिया र न्यूजिल्याण्डबाट एक हजार २४० र अन्य मुलुकबाट एक हजार ९७५ पर्यटक नेपाल आएका छन् ।
सन् २०२१ मा एक लाख ५० हजार ९६२ र सन् २०२० मा दुई लाख ३० हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।