दिमाग खराब नगरौं, गठबन्धन कुनै हालतमा टुट्दैन: अध्यक्ष नेपाल
अखबार टुडे
प्रकाशित:
२०७८, १९ माघ

काठमाडौं, १९ माघ । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन कुनै हालतमा पनि नटुट्ने बताएका छन् ।
अनेरास्ववियूद्वारा आयोजित रक्तदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले गठबन्धन तोड्न कसैले प्रस्ताव गरेको भए पनि सफल नहुने बताउदै गठबन्धबारे मिडियामा आएका समाचारमा कुनै सत्यता नरहेको बताए ।

कार्यक्रममा बोल्दै उनले भने, ‘जेठमा स्थानीय चुनाव हुँदैछ । गठबन्धन एकढिक्का भएर जानेछ । कसैले गठबन्धन तोड्नुस् भनेका होलान् तर तिनले चाहँदैमा गठबन्धन टुट्दैन’, ।
उनले थपे, ‘अहिले मिडियामा आएका कुरालाई लिएर दिमाग खराब गर्न जरुरी छैन । भर्खरै प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डसँग मेरो छलफल भएको छ । मिडियामा आएका विषय मनगढन्ते भएकोले गठबन्धनलाई मजबुत बनाउने कुरा भएको छ’, ।

एमालेले प्रतिनिधिसभामा जारी राखेको अवरोधप्रति पनि नेपालले आपत्ति जनाएका छन् । ‘प्रतिनधिसभा क्रियाशील हुनुपर्ने, बनाउनुपर्नेमा जनताका, राष्ट्रका समस्याबारे छलफल गर्नुपपर्नेमा बाधा व्यवधान खडा भइरहेको छ,’ उनले भने, ‘सबैतिर गन्जागोल पैदा गरेर नेपालको राजनीतिलाई गलत दिशातिर लिएर जाने प्रवृत्ति केपी ओली नेतृत्वको एमालेले गरेको छ ।’ त्यो प्रवृत्तिको विरुद्धमा आफूहरू रहेको उनको भनाइ थियो ।
राष्ट्रियसभा निर्वाचनबाट गठबन्धनको जितको क्रम सुरू भएको बताउदै सबै चुनावमा गठबन्धन गरेर अगाडि बढ्ने उनले बताए ।

बालुवाटारमा देउवा, प्रचण्ड र नेपालबीच छलफल
प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज (बुधवार) झन्डै एक घण्टा कुराकानी भएको छलफलमा प्रधानमन्त्रीले एमसीसी सम्झौता छिटो संसदबाट पारित गर्ने विषयमा प्रचण्ड र नेपाललाई सहयोग गर्न आग्रह गरेको बताइएको छ ।

प्रधानमन्त्रीको आग्रहपछि प्रचण्ड र नेपालले एमसीसी सम्झौतामा रहेका केही विषयमा प्रष्ट पारेर मात्रै पारित गर्नुपर्ने अडान दोहो¥याएको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यस्तै प्रधानमन्त्री देउवाले मंगलबारमात्रै निर्वाचन आयोगसँग जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने मितिबारे छलफल गरेका थिए । अब बस्ने मन्त्रिपरिषद्को बैठकले त्यसबारे निणर्य गर्ने र मिति घोषणा गर्ने देउवाको तयारी रहेको बताइएको छ ।

प्रतिक्रिया