काठमाडौं, १९ माघ । काठमाडौं उपत्यकाका केही अस्पताल र ल्याबहरुले चर्को शुल्क लिएर ग्राहकलाई नक्कली रिपोर्ट दिने गरेको पाइएको छ ।
अस्पताल र प्रयोगशालाहरुले विचौलियासँग मिलेर नक्कली पीसीआर रिपोर्ट बनाइदिने गरेको पाइएको नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाले जनाएको हो ।
भक्तपुरको मध्युपर थिमीस्थित नागरिक कम्युनिटी टिचिङ अस्पताल र काठमाडौंको तीनकुनेस्थित कान्तिपुर अस्पतालबाट नक्कली पीसीआर रिपोर्ट बनाएको अभियोगमा त्यहाँका कर्मचारी र केही विचौलियालाई पक्राउ गरिएको अपराध अनुसन्धान महाशाखाका सूचना अधिकृत प्रहरी उपरिक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।
पक्राउ पर्नेमा विदेह नगरपालिका–४ धनुषाका रोशनकुमार छिट्टान, छिरेश्वर नगरपालिका–१ धनुषाका नागेन्द्र यादव, तेमाल गाउँपालिका–५ काभ्रेका माधव मैनाली र बलरा नगरपालिका–७ सर्लाहीका प्रसन्नकुमार झा छन् । त्यस्तै राजदेवी नगरपालिका–४ रौतहटका भावेश मित्र र काठमाडौं महानगरपालिका–३२ का निर्मल गिरी भने फरार छन् ।
प्रहरीका अनुसार आरोपित प्रसन्नकुमार झा नागरिक कम्युनिटी टिचिङ अस्पतालका ल्याब प्रबन्धक हुन् । भावेश मिश्र नागरिक कम्युनिटी टिचिङका पीसीआर ल्याब सञ्चालक र निर्मल गिरी कान्तिपुर अस्पतालका पीसीआर ल्याब सञ्चालक हुन् । प्रहरीका अनुसार उनीहरुले व्यक्तिको स्वाबको नमुना नलिइकनै नेगेटिभ रिपोर्ट दिने गरेका थिए ।
कतिपय पीसीआर पोजेटिभ देखिएका नमुनाको सिटी भ्यालु तलमाथि गरी नेगेटिभ रिपोर्ट दिने गरेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ती अस्पताल र ल्याबबाट सम्बन्धित व्यक्तिको उपस्थिति र स्वाबविनै विचौलियाहरुले आफैंले आफ्नो स्वाब संकलन गरी विभिन्न व्यक्तिका नाममा ल्याबमा दिने र ल्याबले सहजै पीसीआर रिपोर्ट उपलब्ध गराउने गरेको पाइएको हो ।
विचौलिया र ल्याबका कर्मचारी एवं व्यवस्थापनको मिलेमतोमा विदेश जाने व्यक्तिहरुलाई पीसीआर रिपोर्ट नेगेटिभ बनाइदिने भनी एक जनाबाट १० हजार रुपैयाँसम्म असुल गरेको पाइएको प्रहरीले जनाएको छ ।