काठमाडौं, १७ माघ । भक्तपुर प्रशासन कार्यालयले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध उजुरी दर्ता गरेको छ ।
सोमबार संक्रमण फैलाउन नहुने कसूरमा अध्यक्ष ओलीविरूद्ध उजुरी दर्ता भएको सहायक प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिएकी छन् ।
प्रमुख जिल्ला अधिकारी परियारका अनुसार उजुरी आएपछि दर्ता गरिएको हो । उनले संक्रामक ऐन २०२० को संक्रमण फैलाउन नपाउने भन्ने व्यवस्था अनुसार ओलीविरुद्ध मुद्धा दायर भएको छ ।
यसबारेमा प्रमुख जिल्ला अधिकारीले हेर्ने भएको हुँदा यसको प्रक्रिया अघि बढ्ने उनले बताइन् । प्रशासन कार्यालयमा आइतबार नै संक्रमित हुँदाहुँदै पनि कार्यक्रममा सहभागी भएको भन्दै एक व्यक्ति उजुरी दिन पुगेका थिए । तर, प्रमुख जिल्ला अधिकारी कार्यालयमा नहुँदा दर्ता भएको थिएन ।
उजुरीमा अध्यक्ष ओलीमाथि संक्रामक रोग ऐन, २०२० अन्तर्गत कारबाही गर्न माग गरिएको छ । अध्यक्ष ओलीले गत माघ १२ गते एमालेको भातृ संगठन युवा संघले बालकोटमा आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी भएका थिए ।