र्‍यापर लाउरेलाई थप ११ दिन हिरासतमा राख्न अदालतको अनुमति
अखबार टुडे
प्रकाशित:
२०७८, १७ माघ

काठमाडौं, १७ माघ । चर्चित र्‍यापर आशिष राना ‘लाउरे’ लाई थप ११ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले आइतबार अनुमति दिएको छ ।

ब्राउन सुगर कारोबार गर्ने समूहसहित पक्राउ परेका लाउरेलाई अदालतले थप ११ दिनको म्याद दिएको जिल्ला प्रहरी प्रमुख रमेश थापाले जानकारी दिए । अनुसन्धानका लागि अदालतले पहिलोपटक ८ दिन र दोस्रोपटक १७ दिनको समय दिएको थियो । लागु औषध मुद्दामा प्रहरीले बढीमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले गत पुस १४ गते पोखरा नयाँबजारका ३२ वर्षीय लाउरेसहित, पोखरा ११ का ३९ वर्षीय ध्रुवबहादुर थापा, पोखरा ७ का ३० वर्षीय नवीन गुरुङ र पोखरा ८, सभागृहका २२ वर्षीय सुस्मिता गुरुङलाई ब्राउन सुगर नामक लागूऔषधसहित पक्राउ गरेको थियो । लागूऔषध कारोबारबारेको सूचना पश्चात सुरुमा नवीन गुरुङको साथबाट ०.५१ ग्राम ब्राउन सुगर फेला परेको थियो । पछि सोधपुछका क्रममा सुस्मिता गुरुङको कोठामा १२.५० ग्राम ब्राउन सुगर लुकाइराखेको भेटिएको थियो ।

कारोबार पुष्टि भएको खण्डमा ¥यापर लाउरेसहितको समूहलाई ५ वर्षसम्म जेल हुन सक्छ । तर, कारोबार नभई सेवनमात्रै गरेको पुष्टि भएमा १ वर्ष कैद र १० हजारसम्म जरिवाना हुन सक्ने कानुनी प्रावधान छ । कास्की प्रहरी प्रमुख थापाले ब्राउन सुगरको परीक्षण प्रतिवेदन नआइसकेकाले ढिला भएको बताए ।

प्रतिक्रिया