‘सहिदको बलिदानकै कारण मुलुकमा लोकतान्त्रिक शासन व्यवस्था सम्भव’
अखबार टुडे
प्रकाशित:
२०७८, १६ माघ

काठमाडौं, १६ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले सहिदको बलिदानकै कारण मुलुकमा सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था सम्भव भएको बताएका छन् ।

सहिद सप्ताहको अन्तिम दिन आज लैनचौरस्थित सहिद स्तम्भमा माल्यार्पण गर्दै प्रधानमन्त्री देउवाले व्यक्तिगत स्वार्थ नराखी सहिदले गरेको त्याग र बलिदानका कारण मुलुकमा ठूलो राजनीतिक परिवर्तन सफल भएको बताएका हुन् ।

सहिदको सपना साकार पार्न सबैले आआफ्नो स्थानबाट योगदान गर्नुपर्ने बताउँदै उनले मुलुकमा विधिको शासन र राजनीतिक परिवर्तन पनि सहिदकै कारण सम्भव भएको धारणा राखे । सहिदले परिकल्पना गरेअनुसारको समृद्ध राष्ट्र निर्माण गर्न सरकार प्रतिबद्ध रहेको उनले स्पष्ट पार्दै सच्चा सहिदको अभिलेख तयार गर्न सम्बन्धीत निकायलाई निर्देशन दिए ।

प्रधानमन्त्रीले भने, ‘मुलुकको अबको गन्तव्य भनेको राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै लोकलन्त्र र सङ्घीय शासन प्रणालीलाई बलियो बनाउँदै मुलुकलाई छिटो विकसित राष्ट्र निर्माणतर्फ लाने हो ।’ सोही अवसरमा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले सहिदको योगदानले नै देशमा प्रजातन्त्र स्थापन सम्भव भएको धारणा राखे ।

महामारीका कारण सो कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण, मुख्य सचिव शङ्करदास बैरागीलगायत अन्य केही सीमित उच्चपदस्थ अधिकारी मात्र उपस्थित रहेको थियो ।

प्रतिक्रिया