
काठमाडौं, १५ माघ । आगामी जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सत्तारुढ गठबन्धनबीच सहमति भएको छ ।
शनिबार दोस्रो पटक बसेको सत्तारुढ दलको बैठकले जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न प्रधानमन्त्रीमार्फत सरकारलाई सुझाव दिएको थियो ।
सत्तारुढ दलको बैठकमा प्रधानमन्त्रीलाई यस्तो सुझाव दिएको काँग्रेस नेता तथा सञ्चारतथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार अब सरकारले निर्वाचन आयोगसँग छलफल गरेर चुनावको मिति तोक्ने छ ।
‘स्थानीय तहको निर्वाचन जेठ महिनाभित्र गर्न सत्तारुढ दलको बैठकमा प्रधानमन्त्रीमार्फत सरकारलाई सुझाव दिएको छ’, कार्कीले भने, ‘संविधानसँग बाझिएका ऐन पनि संशोधन गर्न गठबन्धनले सुझाव दिएको छ ।’
यसअघि सत्तारुढ गठबन्धनमा स्थानीय तह निर्वाचन ऐन संशोधन गरी स्थानीय तहको निर्वाचन धकेल्ने विषयमा छलफल भएको थियो । तर, गत बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि स्थानीय निर्वाचन नसार्न आग्रह गरेकी थिइन् ।
