काठमाडौं, १५ माघ । आगामी स्थानीय तहको निर्वाचनबारे छलफल गर्न बसेको पाँच दलीय गठबन्धनको बैठक निष्कर्षविहीन सकिएको छ ।
शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा स्थानीय निर्वाचनको बारेमा सहमती जुटन नसकेपछि आजै अपराह्न ४ बजे पुनः बैठक बस्ने बताइएको छ ।
प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह निर्वाचनको बारेमा पाँच दलीय गठबन्धनको बीचमा विगतदेखी निरन्तर छलफल भईरहेको छ । तर संविधान र स्थानीय तह निर्वाचन ऐन बाझिएका कारण कानून संशोधन गरेर निर्वाचन मिति तोक्नुपर्नेमा छलफल भइरहेको छ ।
संविधानसंग बाझिएको ऐन संशोधन गरेर तीनै तहको निर्वाचन एकै पटक गर्नुपर्ने अडानमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी छ । तर प्रमुख सत्तारुढ नेपाली कांग्रेसभित्र एकमत छैन् । संविधान अनुसार बैशाखमै स्थानीय तहको निर्वाचन हुनुपर्ने सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा इतर समूहको अडान छ ।
देउवा समूहले सबै राजनीतिक दलको सहमतीमै कानून संशोधन गरेरै निर्वाचन गर्नुपर्ने पक्षमा उभिदै आएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले स्थानीय तहको निर्वाचन बैशाखमै हुनुपर्ने अडान व्यक्त गर्दै आएको छ ।
आजै बसेको एमाले जनवर्गीय संगठनको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन पर धकेल्ने काम गरिरहेको आरोप लगाउदै सडक आन्दोलनमा उत्रिन निर्देशन दिएका छन् ।