मौरिससविरुद्ध पहिलोपटक खेल्दै– खेल जिते श्रेय खेलाडीलाई, हारे म जिम्मेवार हुन्छु: अलमुताइरी
अखबार टुडे
प्रकाशित:
२०७८, १३ माघ

काठमाडौं, १३ माघ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मौरिससविरुद्धको मैत्रीपूर्ण खेलमा जित हात पारे त्यसको श्रेय खेलाडीलाई जाने बताएका छन् ।

मुख्य प्रशिक्षक अलमुताइरीले नेपाली टोलीले जित हात पारे त्यसको सम्पूर्ण श्रेय खेलाडीमा जाने र पराजय भोगे त्यसको जिम्मेवार आफूमात्र हुने सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन् ।

नेपालले पहिलोपटक अफ्रिकी राष्ट्र मौरिससविरुद्ध खेल्न लागेको हो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने दुई मैत्रीपूर्ण खेल यही शनिबार र मङ्गलबार हुनेछ । मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले नेपाली टोलीको घोषणासमेत गरिसकेको छ । प्रारम्भिक चरणमा रहेका ३४ खेलाडी नै छनोटमा परेका छन् ।

किरणकुमार लिम्बूले कप्तानीको भूमिका निर्वाह गर्नेछन् । माल्दिभसमा व्यावसायिक फुटबल खेलिरहेका किरण मौरिससविरुद्धको दुई मैत्रपूर्ण खेल खेल्नका लागि हिजोमात्रै नेपाल आइपुगेका हुन् ।

प्रशिक्षक अलमुताइरीले प्रारम्भिक छनोटमा समावेश भएका ३४ खेलाडीलाई नै दुई खेलका लागि प्रयोग गर्ने निर्णय गरेका हुन् । उनले नतिजाभन्दा पनि खेलाडीलाई अनुभव दिनु आफ्नो मुख्य लक्ष्य रहेको यसअघि बताए थिए ।

छनोट हुने ३४ सदस्यीय टोलीको गोलरक्षकमा विशाल श्रेष्ठ, दीप कार्की, किरणकुमार लिम्बू, शत्रुघन चौधरी र टिकेन्द्र थापा छन् भने डिफेन्डरमा अनन्त तामाङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, नवीन गुरुङ र सुमन अर्याल छन् ।

त्यसैगरी मिडफिल्डरमा आकाश बुढामगर, एरिक विष्ट, कृतिश रत्न छुन्जु, नितिन थापा, पुजन उपरकोटी, सन्तोष तामाङ, सुभाष गुरुङ, सुदीप गुरुङ, सुजल श्रेष्ठ, सुरज जिउ ठकुरी, तेज तामाङ, दर्शन गुरुङ, विशाल राई, आशिष राई, जगजित श्रेष्ठ र प्रशान्त अवस्थी रहेका छन् । फरवार्डमा आशिष लामा, अन्जन विष्ट, विमल घर्तीमगर, मनिष डाँगी, सुमन लामा, सुनिल बल र सुशील राई छन् ।

प्रतिक्रिया