राजेशपायलको संगीतमा तहल्का, २४ घण्टा नवित्दै तीन देशमा ट्रेण्डिङमा (भिडियोसहित)
अखबार टुडे
प्रकाशित:
२०७८, ११ माघ

काठमाडौं, ११ माघ । नेपाली सांगीतिक क्षेत्रमा हिजोआज भनिन्छ, ‘गायक राजेशपायलले बोल्नुमात्र पर्छ, भाइरल बन्छ ।’ यो त्यतिकै भनिएको होइन, उनका हरेक गीत अहिले देशदेखि विदेशसम्म ट्रेण्डिङमा पर्ने गरेका छन् भने उनका अन्तर्वार्ताहरु भाइरल बन्ने गरेको छ ।

त्यसो त ‘राई इज किङ’का रुपमा चर्चित राजेशपायल एकमात्र यस्तो नेपाली गायक हुन्, जसका गीतहरु लगातार विदेशमा समेत ट्रेण्डिङमा पर्दै आएको छ । केही समयअघि मात्र उनका ‘चोरी भो’, ‘मायाको डोरीले’, ‘लगन जुर्ने’जस्ता गीतहरु नेपाललगायत कतार, मोरक्को, दुवई र ओमनमा एकसाथ ट्रेण्डिङमा परेका थिए ।

यस्तै, अहिले उनको पछिल्लो गीत ‘सै हँमा’ले युट्युबमा तहल्का मच्चाएको छ । उक्त गीत युट्युबमा अपलोड गरेको २४ घण्टा नवित्दै तीन देशमा ट्रेण्डिङमा परेको छ । मेगास्टार राजेशपायलको ‘सै हँमा’ले युट्युबमा तहल्का मच्चाएको हो । राजेशपायलको आफ्नै संगीत रहेको उक्त गीत यो समाचार तयार पारिरहँदा नेपालमा ट्रेण्डिङ ११, कतारमा ३ र कुवेतमा २९ नम्बर ट्रेण्डिङमा परेको छ । भ्युअर्सको आधारमा हेर्ने हो भने करिब एक लाख ८० हजारले हेरिसकेका छन् ।

हुन त राजेशपायल राई देशविदेशमा लोकप्रिय छन् । त्यो कुरा पछिल्लो समय उनको अमेरिका यात्राले पुष्टि गरेको छ । राजेशपायललाई हालै न्युयोर्कमा अमेरिकाको भिआईपी सुरक्षा मानिएको ‘डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी’ प्रदान गरिएको थियो । अमेरिकी सरकारबाट यो सेक्युरिटी पाउने राजेशपायल राई पहिलोे नेपाली हुन् । जहाँ नेपाली उच्च पदस्थहरु जाँदासमेत प्रहरीले मात्र सेक्युरिटी दिने गरेको छ ।

सांगीतिक करिअरकै दौरानमा राजेशपायलको ‘सेता मंगुराली’ बोलको गीत बिबिसी नेपाली सेवामा द्वितिय भएको थियो । यिनै लोकप्रिय तथा मेगास्टार राजेशपायल राई आफूसँगै अरुलाई पनि केही गरौँ भन्ने भाव राख्छन् । प्रतिभा भएकाहरुलाई अवसर दिनुपर्छ भन्ने मान्यता अनुरुप राजेशपायलले थुप्रै कलाकारलाई स्थान दिएका छन् । त्यसैले पनि उनलई मनकारी गायकसमेत भन्ने गरेका छन् ।

पत्रकारसँग खुलेर बोल्ने बानीले गर्दा पनि राजेशपायलको सांगीतिक उचाई सधै अटल हुँदै आएको छ । ‘चल्नु भन्दा टिकउन गाह्रो भन्ने’हरुका लागि राजेशपायल एक चुनौती हुन्, जसले टिकाएका मात्र छैन, झन्झन् उचाइ लिँदै गएका छन् । तर, सगमाथाको उचाइभन्दा माथि कहाँ पुग्ने ? उनी भन्छन्, आफूलाई सदावहार टिकाइरहनु नै सबभन्दा माथिको उचाइ हो ।’

उनै मेगास्टार राजेशपायलले यसपाली ‘सै हँमा’ (किरात भाषामा बडामहारज’मार्फत एउटी प्रतिभालाई सांगीतिक क्षेत्रमा स्थापित गर्न लागेका छन् । हाल युट्युबमा तहल्का मच्चाइरहेको ‘सै हँमा’ राजेशपायलसँगै पेमा डेक्चन तामाङले स्वर दिएकी छन् ।

९ वर्षीया पेमा उनै बालगायिक हुन्, जो ‘भ्वाइस अफ किड्स नेपाल’मा टप–१६ बाट बाहिरिँदा धुरुधुरु रुएकी थिइन् । ‘हुने विरुवाको चिल्लो पात’ भनेजस्तै सानै उमेरमा कला र गलाले साथ दिएकी पेमाको गायन करिअर यही ‘सै हँमा’बाट सुरु भएको छ । उनको गायनको प्रशंसा गरेर साध्यै नै छैन । उनी अहिलेकी राइजिङ स्टार हुन् भने भोलिका दिनमा स्टार बन्ने सम्भावना बोकेकी छन् । पेमाका लागि त्यो रुवाइ अर्थात भ्वाइसबाट बाहिरिनु पर्दाको आँशु आफ्नो करिअरको भर्याङ बनेको । र, उनले नेपाली सांगीतिक क्षेत्रका मेगास्टार राजेशपायल जस्ताको साथ पाएकी छन् ।

गीतकार टिका चाम्लिङको शब्द रचना रहेको यस गीतलाई राजेशपायलले आफ्नै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया