काठमाडौं, ११ माघ । निर्वाचन आयोगले आउँदो जेठ ५ गतेदेखि स्थानीय तहका पदाधिकारीको कार्याकाल सकिने भएकाले निर्वाचन मिति चाँडै तोक्न सरकारसँग आग्रह गरेको छ ।
सरकारले वैशाखका निर्वाचन नगर्ने तयारी गरेपछि मंगलबार फेरि एक विज्ञप्ति निकालेर तत्काल चुनावको मिति घोषणा गर्न दबाब दिएको हो ।
स्थानीय तहको चुनाव २०७४ सालको वैशाख ३१ गते पहिलो चरण, असार १४ गते दोस्रो चरण र असोज २ गते तेस्रो चरणमा सम्पन्न भएकोमा पहिलो चरण २०७४ वैशाख ३१ गतेलाई आधार मानी स्थानीय तह निर्वाचन ऐन २०७३ को व्यवस्था बमोजिम स्थानीय तहका सबै निर्वाचित पदाधिकारीको कार्यकाल आउँदो २०७९ जेठ ५ मा सकिने आयोगले उल्लेख गरेको छ ।
यसबारे आयोगले कार्तिक ८ गते र पुस ९ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर जानकारी गराएको पनि उल्लेख गरेको छ । सो भेटमा वैशाख १४ गते बुधबारका दिन एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने गरी मिति तोक्न प्रस्ताव गरिएको र यदि कुनै कारणबाट एकै चरणमा निर्वाचन गर्न सम्भव नभएमा पहिलो चरणमा वैशाख १४ गते बुधबार र दोश्रो चरण वैशाख २२ गते विहिबार गर्ने गरी दुई चरणमा निर्वाचन गर्न उपयुक्त हुने प्रस्ताव गरिएको आयोगको भनाइ छ ।
यस्तै पुस ३० गते भएको सर्वदलीय छलफलमा सरकारलाई मिति तोक्न सिफारिश गर्ने लगायतका विविध सुझावहरु प्राप्त भएको पनि आयोगको भनाइ छ ।
स्थानीय तहको चुनाव व्यवस्थापनका लागि कानुनतः आयोगलाई सामान्यतया एक सय २० दिन आवश्यक पर्ने भएकाले स्थानीय तहको चुनाव लक्षित गरी मतदाता नामावली सङ्कलन, मतदानस्थलको पुनरावलोकन र निर्धारण तथा चुनाव सम्पन्न गर्न आवश्यक अन्य पूर्वतयारीका काम निरन्तर गरिरहेको हुँदा आयोगले प्रस्ताव गरेअनुसार मिति तोकिएमा २०७९ वैशाख मसान्तभित्रै स्थानीय तहको चुनाव सम्पन्न गर्न तयारी अवस्थामा रहेको विज्ञप्तिमा उल्लेख छ ।
वर्तमान संवैधानिक एवम् कानुनी व्यवस्थाको आधारमा स्थानीय तहको चुनावको मिति तोक्ने काम जति ढिलो हुँदै जान्छ त्यति नै व्यवस्थापनको कार्य व्यावहारिक एवम् प्राविधिक कारणले जटिल बन्दै जाने आयोगले जनाएको छ । ‘स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ४ को उपदफा (१) बमोजिम आयोगको परामर्शमा आउँदो स्थानीय तहको चुनावको मिति चाँडै तोक्न नेपाल सरकार समक्ष निर्वाचन आयोग आग्रह गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।