काठमाडौं, ८ माघ । कोरोनाभाइरस महामारीले रोकिएको ‘मिस वर्ल्ड’को ग्रान्ड फिनालीमा ४० जना प्रतिस्पर्धीले मात्र सहभागिता जनाउन पाउने भएका छन् ।
मिस वर्ल्ड आयोजकले शनिबार सार्वजनिक गरेको सूचीअनुसार यसअघि सेमिफाइनलमा पुगेका र निर्णायकले छनोट गरेका २५ जनासहित चालिसजना प्रतिस्पर्धीलाई मात्र फिनालीमा सहभागी गराइने भएको छ ।
उक्त सूचीमा ‘हेड टु हेड’ च्यालेन्जबाट अन्तिम ३० मा यसअघि नै प्रवेश गरेकी मिस नेपाल नम्रता श्रेष्ठ पनि छिन् । नम्रतालाई हेड टु हेड च्यालेन्जबाट मात्र छानिएको जनाइएको छ ।
कूल ९७ प्रतिस्पर्धीमध्येबाट ४० जना प्रतिस्पर्धीलाई मात्र फिनालीमा सहभागी गराइन लागिएको हो । फिनालीमा निम्तो नगरिएका प्रतिस्पर्धीलाई भने भर्चुअलरुपमा सहभागी गराइने भएको छ ।
फिनालीमा भाग लिन निम्तो दिइएका भने मार्च १२ मा अमेरिकाको पुएर्तो रिकोमा पुग्नुपर्नेछ । मार्च १६ मा ७०औँ मिस वल्डको ग्रान्ड फिनाली हुनेछ । मार्च १७ मा ब्यूटी विथ पर्पसको विशेष इभेन्ट हुनेछ भने मार्च १८ मा सहभागी स्वदेश फर्कनेछन् ।