विराटनगर, ४ माघ । स्थानीय प्रशासनले कलाकारलाई कार्यक्रम गर्न रोकेपछि आक्रोशित भिडले तेस्रो बर्जु महोत्सवका लागि बनाइएको स्टेज तोडफोड गरेका छन् । साथै, उनीहरुले चार वटा सवारीमा समेत आगजनी गरेका छन् ।
आयोजकले महोत्सवको अन्तिम दिन मंगलबार भोजपुरी कलाकार खेसरीलाल यादवलाई ल्याउने तयारी गरेका थिए । उनीहरुले अग्रिम टिकटसमेत बिक्री गरेको थिए । तर, सरकारले कोरोना संक्रमण बढ्दै गएपछि २५ जना भन्दा बढी मेला हुन प्रतिबन्ध लगाएसँगै स्थानीय प्रशासनले आफ्नो निर्देशिनविपरित महोत्सव गरेको भन्दै कलाकार यादवलाई नआउन आग्रह गरेको थियो ।
तर, कलाकारलाई कार्यक्रम गर्न नदिएपछि महोत्सवमा आएका आक्रोशित दर्शकले स्टेज तोडफोड गर्दै महोत्सव स्थलमा रहेको चारवटा स्करपियोमा आगजनी गरेको छ ।
स्थानीय प्रशासनले महोत्सव रोक्नका लागि यसअघि नै निर्देशन दिएको जनाएको छ । तर, आयोजक बर्जु सामुदायिक विकास केन्द्र सुनसरीले मेला रोक्न अटेर गरेको थियो ।
महोत्सवमा अत्याधिक भीड देखिएपछि स्थानीय प्रशासनले खेसरीलाललाई महोत्सवमा जान नदिई विराटनगरको होटल एसियाटिकमा रोकेर राखेको थियो ।
खेसरीलाल नपुगेपछि आक्रोशित भीडले स्टेज तोडफोड गर्दै चारवटा स्करपिओमा आगजनी गरेको प्रहरीले जनाएको छ । तोडफोड र आगजनीपछि बर्जु क्षेत्रको मंगलबार दिउँसो तनावग्रस्त बनेको थियो ।