मधेश प्रदेशमा आज सार्वजनिक बिदा
अखबार टुडे
प्रकाशित:
२०७८, ४ माघ

जनकपुरधाम, ४ माघ । आज मधेश प्रदेशमा सार्वजनिक बिदा दिइएको छ ।
सोमबार मतदान प्रक्रियाबाट प्रदेशको नाम ‘मधेश’ र स्थायी राजधानी ‘जनकपुरधाम’ तय भएको खुसीयालीमा मधेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा घोषणा गरेको हो ।

नाम र राजधानी निश्चित गर्ने मधेश छैटौँ प्रदेश हो । यसअघि वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको नाम टुङ्गो लागिसकेको छ । प्रदेश–१ ले अझै नाम टुङ्गो लगाउन सकेको छैन ।

यसैबीच, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको नाम मधेश कायम भएसँगै मधेसी जनताको एउटा ठूलो सपना पूरा भएको बताएका छन् ।

मुख्यमन्त्री राउतले मधेस प्रदेश नाम राख्ने प्रस्ताव सोमबार दुई तिहाइभन्दा बढी मतले पारित भएसँगै मधेशी जनताको ठूलो सपना पूरा भएको बताएका हुन् ।
‘मधेस प्रदेशको नामकरणले मधेस आन्दोलनले सम्मान पाएको छ’, मुख्यमन्त्री राउतले भने, ‘मधेश आन्दोलनको भावना र मधेशी जनताको चाहनाअनुरूप मधेश प्रदेश कायम भएको छ, यो हामी सबैको गौरवको कुरा हो ।’ यसबाट शहीदहरुको सम्मान भएको उनको भनाइ थियो ।
मधेस प्रदेशको घोषणाले पहिचानको प्रतिनिधित्व गर्ने बताउँँदै उनले यसबाट उत्पीडित वर्ग, समुदायको मुक्तिका लागि अघि बढ्न ऊर्जा प्राप्त हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया