काठमाडौं उपत्यकामा स्मार्ट लकडाउन (यस्तो छ मापदण्ड)
अखबार टुडे
प्रकाशित:
२०७८, २७ पुष

काठमाडौं, २७ पुस । काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेसँगै स्थानीय प्रशासनले कडाइ गरेको छ ।

पछिल्लो एक सातायता काठमाडौं उपत्यकालगायत देशका अधिकांश जिल्लाका कोरोना संक्रमण बढ्दै गएपछि सरकारले कडाइ गरेको हो ।

मंगलबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले ‘स्मार्ट लकडाउन’सहित स्वास्थ्य मापदण्डमा कडाइ गर्ने निर्णय गरेको हो । ललितपुरका सीडीओ घनश्याम उपाध्यायले सीसीएमसीसी र गृह मन्त्रालयको सर्कुलरअनुसार आर्थिक गतिविधि र आवागमन नरोक्ने गरी स्मार्ट लकडाउन कार्यविधिअनुसार आदेश जारी गरिएको बताए ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंको सूचनाअनुसार सार्वजनिक स्थलमा मास्कको प्रयोग अनिवार्य गर्ने, साबुन पानीले हात धुनेजस्ता स्वास्थ्य मापदण्डको पालना अनिवार्य गराउने उल्लेख छ ।

यस्तै भीडभाड तथा राजनीतिक गतिविधिमा रोक लगाउने, सार्वजनिक ठाउँमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउने, सार्वजनिक स्थलमा जाँदा माघ ७ देखि खोप लगाएको कार्ड देखाउनुपर्ने, माघ १५ सम्म विद्यालय गर्नेलगायत निर्णय भएको छ । यही निर्णयलाई ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयले पनि लागू गरेका छन् ।

प्रतिक्रिया