बतास समूहले लिएको पशुपति धर्मशालाबारे छानविन गर्न समिति गठन
अखबार टुडे
प्रकाशित:
२०७८, २३ पुष

काठमाडौं, २३ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा पशुपति क्षेत्रमा बनाइएको पशुपति धर्मशालाई बतास समूहले व्यापार स्थल बनाएको विषयमा छानविन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले समिति गठन गरेको छ ।

शुक्रबार मन्त्रालयमा बसेको पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषद्को बैठकले कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा पाँच सदस्यीय छानबीन समिति गठन गरेको सञ्चालक परिषद् सदस्य एवं छानबीन समितिकी सदस्य आशा पाण्डेले जानकारी दिएकी हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई पशुपति क्षेत्रको नेपाल-भारत मैत्री धर्मशालाका विषयमा छानविनको माग सहित ज्ञापन पत्र बुझाउँदै युवा संघ नेपालको टोली ।

समितिमा कोषका सञ्चालक परिषद् सदस्यहरु आशा पाण्डे, जयकिरण जैन र देवीप्रसाद बराल छन् । धर्मशाला करारमा दिंँदादेखि हालसम्मको सबै प्रक्रिया कानूनसम्मत भए–नभएको बारेमा सत्यतथ्य पत्ता लगाउन समितिलाई भनिएको छ । समितिलाई सात दिनभित्र छानविन गरी प्रतिवेदन दिन भनिएको छ ।

भारत सरकारको सहयोगमा बनेको ‘नेपाल–भारत मैत्री धर्मशाला’मा अहिले बतास समूहले ‘होटल आनन्द’ चलाइरहेको छ, जहाँ बस्नेले खानाबाहेक एउटा कोठाको करीब ७ हजार रुपैयाँसम्म तिर्नुपर्छ । यो धर्मशालामा महँगो होटल मात्रै नभएर बतास फाउन्डेसनको निजी कार्यालय, अधिवक्ताको कार्यालयदेखि बतास समूहकै ‘भिन्टेज’ गाडीको सोरुम समेत राखिएको छ ।

प्रतिक्रिया