नयाँदिल्ली, २३ पुस (एजेन्सी) । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप १ लाख १७ हजार भन्दा बढी सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।
यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म तीन करोड ५२ लाख २६ हजार सङ्क्रमित भएका छन् ।
हाल ३ हजार ७ जना ओमिक्रोनका सङ्क्रमित रहेका पनि सो मन्न्त्रालयले शुक्रबार जानकारी दिएको छ । ओमिक्रोनका ती सङ्क्रमितहरुमा १ हजार १९९ जना भने कोरोना मुक्त भएका जनाइएको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या ३ लाख ७१ हजार ३६३ रहेका छन् ।
यस्तै, २४ घण्टामा भारतमा ३० हजार ८२६ जना कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै हालसम्म तीन करोड ४३ लाख ७१ हजार ८४५ जना कोरोना सङ्क्रमण निको भएकाले कोरोना भाइरस निको हुने दर ९७.५७ प्रतिशत रहेको जनाइएको छ ।
सोही अवधिमा थप ३०२ को कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ४ लाख ८३ हजार १७८ छ पुगेको मन्त्रालयले थप जानकारी दिएको छ ।
कोरोना सुरु भएदेखि हालसम्म ६८ करोड ६८ लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ ।
यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ४९ करोड ६६ लाख ८१ हजार भन्दा बढी डोज खोप लगाइएको जनाइएको छ ।