वर्षा र हिमपातको सम्भावना
अखबार टुडे
प्रकाशित:
२०७८, २१ पुष

काठमाडौं, २१ पुस । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात र केही ठाउँमा वर्षाको सम्भावना छ ।

उक्त प्रणालीको प्रभाव आगामी शनिबारसम्म कायम रहने जल तथा मौसम विज्ञान विभागका मौसमविद् समिर श्रेष्ठ जानकारी दिए ।
यो मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ ।

बिहीबार देशभर आंशिकदेखि सामान्य बदली भई देशका पहाडी भू–भागमा हल्का वर्षाका साथै उच्च पहाडी भू–भागमा हिमपातको सम्भावना छ । आइतबारदेखि यो प्रणाली कमजोर हुँदै मौसममा क्रमिकरूपमा सुधार हुने देखिएको विभागले जनाएको छ ।

प्रतिक्रिया