काठमाडौं, १८ पुस । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेताहरू जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई आइतबार पार्टीको केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् ।
देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को दफा २१(१०) बमोजिम उनीहरुलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । मनोनित भएकामध्ये गुरुङ सभापतिमा, पौडेल महामन्त्रीमा र शाही सहमहामन्त्रीमा पराजित भएको थियो ।
सभापति देउवाले यसअघि शनिबार वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु प्रकाशमान सिंह, बिमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा प्रकाशशरण महत, डा नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका थिए ।
विधानअनुसार १४औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा केन्द्रीय कार्यसमितिका १३४ पदाधिकारी र सदस्य निर्वाचित हुनुभएको थियो । यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा व्यवस्था छ ।