माओवादी केन्द्रको आज नेतृत्व चयन हुँदै, अध्यक्षमा प्रचण्ड दोहोरिने निश्चित
अखबार टुडे
प्रकाशित:
२०७८, १७ पुष

काठमाडौं, १७ पुस । नेकपा माओवादी केन्द्रको जारी आठौं राष्ट्रिय महाधिवेशनमा आज शनिबार विधान पारित हुँदैछ । शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रस्ताव पारित भएपनि विधान मस्यौदा पारित भएको छैन । विधान मस्यौदा पारित ११ बजेबाट बन्दसत्र सुरू हुँदैछ ।

विधान मस्यौदामा उठेका जिज्ञासाको जवाफ नेता देवप्रसाद गुरुङले दिएपछि मात्रै पारित गर्ने कार्यसूची रहेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन् ।

बन्दसत्रमा अध्यक्ष प्रचण्डले महाधिवेशनमा प्रस्तुत ‘२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेजमाथि समूहगत छलफलबाट आएका सुझाव र जिज्ञासामाथि जवाफ दिएका थिए ।

दस्तावेजले पार्टीको क्रान्तिकारी विचार निर्माण प्रक्रिया सुरु गरेको, पार्टीलाई क्रान्तिकारी दिशामा लगेको र विचार संश्लेषणका लागि महान् बहसको थालनी गरेको निष्कर्ष सुनाउँदै उनले तीनै तहका आगामी निर्वाचनपछि पार्टीको विशेष महाधिवेशन आयोजना गरेर विचारको संश्लेषण गर्ने प्रस्ताव पेश गरेका छन् ।

सुझाव र जिज्ञासामाथि जवाफ दिनेक्रममा अध्यक्ष प्रचण्डले स्थायी कमिटी सदस्य राम कार्कीले राखेका पुरक प्रस्तावलाई स्वीकार गरेर दस्तावेजमा समावेश गर्ने र केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले राखेको फरकमतलाई भिन्न मतकै रूपमा स्वीकार्दै २५ वटै समूहगत छलफलबाट आएका महत्वपूर्ण निष्कर्षलाई दस्तावेजमा समेट्ने विश्वास दिलाएका छन् ।

बन्दसत्र शनिबार विधान मस्यौदामाथि समूहगत छलफलबाट आएका सुझाव र जिज्ञासामाथि स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले जवाफ दिने कार्यक्रम छ ।

विधान पारित भएपछि मात्रै नेतृत्व चयनको प्रक्रिया अगाडि बढ्नेछ । माओवादीले १५ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने प्रस्ताव गरेको छ । माओवादीले बहुपदीय अवधारणा अगाडि सारेको छ । सोही अवधारणाका आधारमा नेतृत्व चयन गर्दैछ ।
आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार विधान पारित भएपछि निर्वाचनको प्रक्रिया सुरु हुनेछ । क्लस्टर अनुसार प्रदेशबाट केन्द्रीय सदस्यका लागि नाम माग गरेका छन् । ३५ प्रतिशत महिला र ४० प्रतिशत युवा समेटेर केन्द्रीय सदस्यको माग गरेका छन् ।

सकेसम्म प्रचण्डले केन्द्रीय सदस्यको नाम सर्वसम्मत गर्ने तयारीमा छन् । केन्द्रीय सदस्यको टुंगो लागिसकेपछि पदाधिकारी चयन प्रक्रिया अगाडि बढ्नेछ ।

हालसम्म अन्य नेताले अध्यक्षमा दावी गरेका छैनन्, त्यसैले अध्यक्षमा प्रचण्ड नै दोहोरिने पक्कापक्की छ । वरिष्ठ नेतालाई उपाध्यक्षमा समेट्न लागिएको छ । यस्तै वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको बलियो सम्भावना छ । महासचिवमा पनि विभिन्न नेताहरूले दावी गरेका छन् ।

प्रतिक्रिया