दिल्लीमा ओमिक्रोन भेरियन्ट समुदायस्तरमा, फैलियो २२ राज्यमा
अखबार टुडे
प्रकाशित:
२०७८, १६ पुष

नयाँदिल्ली, १६ पुस (एजेन्सी) । दिल्ली सरकारका स्वास्थ्यमन्त्री सत्यन्द्र जैनले नयाँ दिल्लीमा कोरोना भाइरसको घातक मानिएको ओमिक्रोन भेरियन्ट समुदाय स्तरमै पुगेको बताएका छन् ।

हालैका स्वास्थ्य वैज्ञानिकहरुका अनुसन्धानबाट ओमिक्रोन समुदायमै पुगेको पाइएको अधिकारीहरुले जनाएको उनले बताए । अनुसन्धानबाट ओमिक्रोनको सङ्क्रमण समुदायमा पुगेको पाइएको छ भन्दै उनले यहाँ पछिल्ला समयमा फैलिएको कोरोना सङ्क्रमणका ४० प्रतिशतभन्दा बढी सङ्क्रमितहरु ओमिक्रोनकै भएको बताए ।

उनले भने, अनुसन्धानबाट यो देखिएको छ कि यहाँका सङ्क्रमितहरुमा ओमिक्रोनको सङ्क्रमण बढी देखिएको छ । त्यस्तो संक्रमण बाहिरबाट आएका मानिस र यहीँ रहेकामा नै देखिएको छ । त्यसैले यो भेरियन्ट समुदायसम्म नै पुगेको पाइएको छ ।

कतै पनि नगएका नागरिकमा यस्तो संक्रमण पाइएको छ, अनि यस्तो अवस्थामा हामीले निकालेको निष्कर्ष यो हो कि यहाँका समुदायस्तरकै नागरिकसम्म नै यसको सङ्क्रमण पुगेको छ । भारतमा ओमिक्रोनको सङ्क्रमण भित्रिएको धेरै भएको छैन, तर यहाँका नागरिकमा निकै नी तिब्र गतिमा यो फैलिएको छ उनले बताएका हुन् ।

यस्तै ओमिक्रोन भेरियन्ट भारतको २२ राज्यमा फैलिएको छ । शुक्रबार बिहारमा एक जनामा ओमिक्रोनको संक्रमण पुष्टि भएसँगै यो भेरियन्ट २२ राज्यमा फैलिएको हो ।

शुक्रबार भारतमा अहिलेसम्मकै धेरै व्यक्तिमा ओमिक्रोनको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १८० जनामा ओमिक्रोन संक्रमित पुष्टि भएको भारतीय समाचार माध्यमले जनाएका छन् । योसँगै ओमिक्रोनका संक्रमितको संख्या १ हजार २७० पुगेको छ ।

ओमिक्रोनका संक्रमितमध्ये सबैभन्दा धेरै दिल्लीमा छन् । त्यहाँ हालसम्म २६३ जनामा यो भेरियन्टको संक्रमण पुष्टि भएको छ । दोस्रो स्थानमा रहेको महाराष्ट्रमा ओमिक्रोनका संक्रमितको संख्या २५२ जना पुगेको छ । ओमिक्रोनका संक्रमित फेला पर्ने पछिल्लो राज्य बिहार बनेको छ । त्यहाँ हालै दिल्लीबाट आएका एक पुरुषमा ओमिक्रोनको संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया