काठमाडौं, १४ पुष । सरकारले एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको विजेता नेपाली टोलीलाई नगद पुरस्कार दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको बुधबार बसेको बैठकले खेलाडी, प्रशिक्षक र अफिसियललाई नगद पुरस्कार दिने निर्णय गरेको हो । उपाधि विजेता टोलीमा रहेका १२ जना खेलाडीलाई जनही ५÷५ लाख, २ जना प्रशिक्षकलाई जनही ३ लाख र १ जना अफिसियललाई २ लाख दिने निर्णय भएको छ ।
ढाकामा मंगलबार सम्पन्न फाइनलमा उज्वेकिस्तानलाई ३–२ को सेटमा हराउँदै नेपालले सेन्ट्रल जोन महिला भलिबलको उपाधि रक्षा गरेको थियो । उपाधि विजेता नेपाली टिम भोलि (बिहीबार) स्वदेश फर्कदैछन् । प्रतियोगितामा नेपाली पुरूष भलिबल टोली भने चौथो भएका छन् ।
प्रतियोगितामा नेपालसहित ६ देशको सहभागिता रहेको थियो । यसअघि, नेपाली महिला भलिबल टोलीले सन् २०१९ मा बंगलादेशमै सम्पन्न उक्त प्रतियोगिताको पहिलो संस्करणको फाइनलमा माल्दिभ्सलाई हराएर उपाधि जितेको थियो ।