काठमाडौं, १३ पुष । नेपालका सन्तोष शाह बीबीसीको यूके मास्टरसेफ प्रोफेशनल्स रिम्याच २०२१ का विजेता भएका छन् ।
सोमबार साँझ बीबीसीमा प्रसारण गरिएको फाइनलमा उनले अन्य प्रतिस्पर्धीहरूलाई पछि पार्दै ‘रिम्याच’ को उपाधि हात पारेका हुन् । प्रतिस्पर्धामा सन् २०२० का फाइनलिस्टहरू सन्तोष, फिली आर्मिटेज म्याटिन, बार्ट भ्यान डेर ली र सन् २०१७ का फाइनलिष्ट जेमी पार्क थिए ।
यसपटक सन्तोषले कुखुराको तिते, मालपुवा, अनानस बुनिया, सौंप आइसक्रिम, विभिन्न सात प्रकारका तरुवा, तिलौरी बिरिया, भात, मासको दाल, पोलेको कटहर लगायतका १८ प्रकारका विशुद्ध मौलिक नेपाली परिकारहरू पस्केका थिए । प्रतिस्पर्धामा आफूले पस्केका तराई, हिमाल र पहाडका विविध नेपाली परिकारलाई निर्णायक मण्डलका सदस्यले निकै मन पराएको शाह बताउँछन् ।
करिब पाँच महिना नेपाल बसाइमा क्रममा आफूले बटुलेका नेपाली खानाको अध्ययनको आधारमा यस पटकको प्रतियोगितामा सहभागी भएको सन्तोषले बताए । बीबीसीबाट प्रसारण हुने हस्पिटालिटी क्षेत्रमा विश्वकै प्रतिष्ठित टिभी रियालिटी शो ‘ ‘मास्टर सेफ प्रोफेशनल यूके प्रतियोगिता २०२०’ मा उनी उपविजेता बनेका सन्तोष यसपटक पाएको सफलताबाट थप उत्साहित बनेका छन् ।
सिराहा जिल्लाको कर्जन्हाबाट दुई दशकअघि १५ वर्षको कलिलो उमेरमै जीविकोपार्जनका लागि भारत हुँदै बेलायत आएका सन्तोषले यहाँ निकै प्रतिष्ठित मानिने भारतीय ‘मिसिलिन स्टार’ प्राप्त कम्पनीहरूमा एक्जुकेटिभ सेफको उच्च पोजिसिनमा काम गरे ।
फ्रेन्च कुजिइनका ‘गडफादर’ मानिने रेमण्ड ब्लांक (ओबिई) र अर्का सेलिब्रेटी सेफ विवेक सिंहसंग पनि उनले काम गरे । भारतीय कुजिनमा करिब दुई दशक बिताएपछि सन्तोषमा नेपाली खाना अन्तर्राष्ट्रिय बजारमा चिनाउने भावना लिएर लगातार अघि बढेका छन् ।