काठमाडौं, ८ पुुस । विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजिनामा दिएकी छन् ।
बिहीबार रञ्जुले पार्टी अध्यक्ष रवीन्द्र मिश्रलाई पत्र लेख्दै आफू पार्टीमा लिएको जिम्मेवारीका साथै पार्टीबाट अलग भएको घोषणा गरेकी हुन् । उनको वक्तव्यमा लेखिएको छ, ‘अहिले म संलग्न पार्टीले संघीय गणतान्त्रिक नेपालमा वैकल्पिक राजनीतिको खोल ओढेर अत्यधिक फोहोर गरिरहेको छ । जुन मैले सफा गर्ने कोशिस पनि गरें तर पूर्णरुपले सफा गर्न असमर्थ रहें । तसर्थ म यही संगठनमा बसेर नेपाली राजनीतिमा बसेर थप फोहोर बढाउन सक्दिनँ ।’
उनले सो पत्रमा राजनीतिक यात्राको मोडमा वैकल्पिक राजनीति भनेर अघि बढिरहेको संगठन, मूल नेतृत्वमा ‘अधिकतम ढोंग’ पाएको उल्लेख गरेकी छन् । ‘वि.सं. २०७० बाट सुरु भएको राजनीतिक यात्रामा कैयौं उताव–चढावहरु आए जसलाई पार गर्दै जीवन निरन्तर चलिरहेको छ । तर राजनीतिक यात्राको यो मोडमा वैकल्पिक राजनीति भनेर अघि बढिरहेको संगठन, मूल नेतृत्वमा मैले अधिकतम ढोंग (hypocrisy) पाएँ,’ उनको पत्रमा उल्लेख छ ।
दर्शना तत्कालीन विवेकशील नेपाली दलको संस्थापक सदस्य हुन् । स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदको उम्मेदवारसमेत बनेकी उनी निर्वाचनमा तेस्रो स्थानमा रहिन् । उनले अब एक सचेत स्वतन्त्र नागरिकको भूमिकामा मात्रै राजनीति रुपमा सक्रिय रहने बताएकी छन् ।
विवेकशील साझा पार्टीमा पछिल्लो समय पार्टीले लिने विचारबारे विवाद छ । अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेबीच पार्टीले लिने विचारबारे कुरा मिलेको छैन । अध्यक्ष मिश्र संघीयता खारेजी र धर्म निरपेक्षतामा जनमत संग्रह हुनुपर्ने विचारमा छन् । पार्टी अध्यक्ष मिश्रले संयोजक मिलन पाण्डेलाई पार्टीबाट समेत निष्काशन गरिसकेको छ ।