माओवादीको राष्ट्रिय सम्मेलनमा अतिथि नहुने, नयाँ क्रान्तिकारी विचार र पार्टी निर्माण गर्ने
अखबार टुडे
प्रकाशित:
२०७८, ७ पुष

काठमाडौं, ७ पुष । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा १ हजार ५३३ जना प्रतिनिधि सहभागी हुने भएका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता कृष्णबहादुर महराले ८०३ जना प्रदेश प्रतिनिधिसहित १५३३ जना प्रतिनिधिहरू सम्मेलनमा सहभागी हुने जानकारी दिए ।

महराका अनुसार सम्मेलनमा प्रदेश प्रतिनिधि ८०३, केन्द्रीय प्रतिनिधि २७, केन्द्रीय विभागबाट १०२, आयोगबाट ७५, ज्येष्ठ कम्युनिष्ट मञ्चबाट १२५, केन्द्रीय सल्लाहकारबाट १४९ र आयोजक समितिका तर्फबाट १७९ प्रतिनिधि सहभागी हुनेछन् । त्यसमा जनयुद्धका घाइते, अपाङ्गता भएका, पूर्वजनमुक्ति सेनाबाट पाँच प्रतिशत मनोनित गरिनेछ ।

उनले महाधिवशेन नभइ राष्ट्रिय सम्मेलन भएकाले देशभित्र र बाहिरबाट कुनै पनि अतिथिलाई आमन्त्रित नगर्ने बताए । भक्तपुर, ललितपुर र काठमाडौंका प्रवेशद्वारमा स्वागत द्वार राखिने भएको छ । सहरका मुख्य ठाउँहरुमा सम्मेनलबारे पोष्टर राखिने छ ।

माओवादीको राष्ट्रिय सम्मेलन यही पुस ११ देखि १३ गतेसम्म हुँदैछ । माओवादीले राष्ट्रिय सम्मेलनको तयारीस्वरुप यसअघि सेल, टोल, वडा, शाखा, महाशाखा, पालिका र प्रदेश सम्मेलन सम्पन्न गरिसकेको छ ।

यसैबीच, प्रवक्ता महराले राजनीतिक, वैचारिक र प्राविधिक तयारी पूरा भएको जानकारी दिए । महराले महाधिवशेन र राष्ट्रिय सम्मेलन फरक हुने भन्दै उनले राष्ट्रिय सम्मेलनले विचार र पार्टी निर्माण गर्ने बताए ।

‘नयाँ क्रान्तिकारी विचार र पार्टी निर्माण गर्ने राष्ट्रिय सम्मेलनको मुख्य उद्देश्य हो, २१औँ शताब्दीसम्म आइपुग्दा धेरै परिवर्तन भएका छन्’, उनले भने, ‘विश्व साम्राज्यवादले लिएको नयाँ रुपलाई परास्त गर्न नयाँ क्रान्तिकारी विचार र पार्टीको आवश्यकता छ ।’ सम्मेलनमा पार्टीको राजनीतिक वैचारिक अवस्थाका बारेमा गम्भीर ढंगले समीक्षा हुने उनले बताए । ‘सामन्तवादको अवशेष उखेलेर फाल्ने ढंगबाट माओवादीको नेतृत्वमा जनयुद्ध भयो, २०६४ सालको निर्वाचनमा आम जनताको विश्वास जितेको पार्टी अहिले यो अवस्थामा आइपुगेको छ’, उनले भने, ‘हिजो हामी कसरी बलियो भयौँ, आज किन कमजोर भयौँ भनेर समीक्षा हुनेछ ।’

सम्मेलनमार्फत फरक ढंगबाट पार्टी निर्माण गर्ने संकल्प लिइने उनले बताए । क्रातिको नयाँ कार्यभार तथा नेपाली जनताको आकांक्षा पूरा गर्न नयाँ पार्टीको आवश्यकता रहेको भन्दै उनले सम्मेलनले त्यसतर्फ अविचलितरुपमा लाग्ने पार्टी निर्माण गर्ने बताए ।

प्रतिक्रिया