काठमाडौं, ५ पुष । म्यान्मारको सेनाले गत जुलाईमा गरेको शृङ्खलाबद्ध सामूहिक हत्याका घटनामा कम्तीमा ४० जना सर्वसाधरण मारिएको बीबीसीको जनाएको छ ।
मध्य म्यान्मारमा पर्ने विपक्षीहरूको बलियो पकड भएको सगाइन जिल्लाको कानी नगरमा गत जुलाईमा चारवटा छुट्टाछुट्टै घटना भएका थिए । यीन नाम गरेको गाउँमा हत्याको ठूलो घटना भएको पत्ता लागेको छ जहाँ कम्तीमा १४ जनालाई मृत्यु हुनेगरी कुटपिट गरिएको बताइएको छ ।
उनीहरूलाई हत्या गर्नुअघि सैनिक जवानहरूले गाउँलेलाई घेरा हालेको प्रत्यक्षदर्शी तथा बाँच्न सफल व्यक्तिहरूले बताएका छन् । हत्या गरिएकामध्ये अधिकांश व्यक्तिलाई पहिला यातना दिइएको र थोरै गहिरो चिहानमा गाडिएको बीबीसीले जनाएको छ ।
फुत्कन सफल एक पुरुषले हत्या गरिएकाहरूलाई सैनिकहरूले चरम यातना दिएको बताए । बाँच्न सफल ति व्यक्तिले भने, ‘उनीहरूलाई बाँधिएको थियो, ढुङ्गाले र बन्दुकको कुन्दा हानिएको अनि दिनभरि यातना दिइएको थियो,’।
सेनाले सामूहिक हत्याहरू गरेको कुरा म्यान्मारका सञ्चार उपमन्त्री र सेनाका प्रवक्ता जव मिन तुनले भने अस्वीकार गरेनन् । ‘त्यो हुनसक्छ,’ प्रवक्ता तुनले भने, ‘जब उनीहरूले हामीसँग शत्रुको व्यवहार गर्छन् तब आत्मरक्षा गर्नु हाम्रो अधिकार नै हुन्छ ।’
प्रजातन्त्रको पुनर्बहालीको माग गर्दै सेनामाथि आक्रमण गरेका नागरिक मिलिशिया समूहहरूलाई सामूहिक रूपमा दण्डित गर्ने उद्देश्यले ती हत्या गरिएको देखिएको छ । हत्या गरिएका व्यक्तिका परिवारले भने उनीहरू सेनामाथि आक्रमणका घटनामा संलग्न नरहेको बताएका छन् ।
सेनाले सत्ता आफ्नो हातमा लिएयता विदेशी पत्रकारहरू रिपोर्टिङ गर्न दिइएको छैन भने अधिकांश निजी सञ्चारमाध्यम बन्द भएका छन् जसका कारण स्थलगत रिपोर्टिङ असम्भवप्रायः भएको छ ।