‘सकेसम्म सहमतिबाटै नेतृत्व चयन गर्छौँ नभए प्रजातान्त्रिक प्रक्रियाबाट प्रतिस्पर्धामा जाने हो’
अखबार टुडे
प्रकाशित:
२०७८, २३ मंसिर

काठमाडौं, २३ मंसिर । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सकेसम्म सहमतिका आधारमा महाधिवेशनबाट नेतृत्व चयन गर्ने बताए ।

बिहीबार नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतद्वारा लिखित ‘नेपाली कांग्रेस एण्ड नेशन बिल्डिङ’ पुस्तकको विमोचन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘सकेसम्म हामी सहमतिबाटै नेतृत्व चयन गर्नेछौँ नभए प्रजातान्त्रिक प्रक्रियाबाट प्रतिस्पर्धामा जाने हो । तर पनि प्रतिस्पर्धामा हुने जितहारलाई स्वाभाविकरूपमा लिएर कुनै पनि प्रकारको कटुता राख्नु हुँदैन । जित्नेले पनि हार्नेलाई समेट्नुपर्छ, हार्नेले पनि सहयोग गर्नुपर्छ, यसलाई प्रजातान्त्रिक प्रक्रियाका रूपमा लिनुपर्छ, कुनै पनि प्रकारको कटुता, मनोमालिन्य राख्नु हँुदैन, असहिष्णु बन्नु हुँदैन ।’

पार्टीको १४औँ महाधिवेशनमा सहभागी हुन देशैभरिबाट उत्साहपूर्वक काठमाडौँ आएका नेता, कार्यकर्ताहरूलाई यही उत्साह र उर्जालाई आगामी चुनावसम्मै लैजान पनि आग्रह गरे । महाधिवेशन नेपाली कांग्रेसका मात्र नभएर नेपालको प्रजातान्त्रिक भविष्यका लागि पनि एक महत्वपूर्ण अवसर भएको बताए । उनले भने, ‘महाधिवेशन सफल पारेर फर्किएर नेपाली कांग्रेसलाई बलियो बनाउने र अबका सबै निर्वाचनहरूमा बहुमत हासिल गर्ने बनाउन साथीहरू लाग्नुहुनेछ ।’

कार्यक्रममा प्रधानमन्त्री देउवाले सहमहामन्त्री डा महतले बिपी कोइरालाको सरकारको अर्थव्यवस्थाका विषयमा पुस्तक लेखेर प्रसंशनीय काम गरेको बताए । उनले डा महतलाई मेहेनती र आफूले पाएको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्ने व्यक्ति भनेर टिप्पणी पनि गरे ।

प्रतिक्रिया