सीडीएस तथा पूर्व सेनाप्रमुख रावतको शुक्रवार अन्त्येष्टि गरिने, दुर्घटनाबारे संसदमा जानकारी गराउने
अखबार टुडे
प्रकाशित:
२०७८, २३ मंसिर

काठमाडौं, २३ मंसिर । भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) तथा पूर्व सेनाप्रमुख जनरल विपिन रावतको शुक्रबार अन्त्येष्टि गरिने भएको भारतीय वायुसेनाले ट्वीट गरेरे जानकारी दिएको छ ।

बुधबार हेलिकप्टर दुर्घटनामा परेर निधन भएको थियो । उनको शव बिहीबार दिल्ली ल्याइँदैछ । रावतसहित १४ जना सवार रहेको भारतीय वायु सेनाको एमआई–१७भी५ हेलिकप्टर तमिलनाडुको कुन्नूरमा दुर्घटनाग्रस्त भएको थियो ।

दुर्घटनामा उनको पत्नीसहित १३ जनाको मृत्यु भएको थियो । दुर्घटनामा जलेर गम्भीर एक घाइतेको अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण पत्ता लगाउन जाँचबुझ आदेश दिइएको सेनाले जनाएको छ ।

भारतीय सेनाका पूर्वप्रमुख रावत सन् २०२० को जनवरीमा भारतको पहिलो चिफ अफ डिफेन्स स्टाफ रहेका थिए । रक्षा मन्त्री राजनाथ सिंहले दुर्घटनाबारे बिहीबार संसद्मा सम्बोधन गर्ने कार्यक्रम छ । भारतको उत्तराखण्डमा शोक घोषणा गरिएको छ । साथै सीडीएस रावतको निधनमा भारतीय राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी लगायतले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रतिक्रिया