दुर्गाप्रसादलाई पाँच लाख भारु क्षतिपूर्ति दिन कलकत्ता उच्च अदालतको आदेश
अखबार टुडे
प्रकाशित:
२०७८, २३ मंसिर

काठमाडौं । विना कसुर भारतको जेलमा ४० वर्ष थुनिएका इलामका दुर्गाप्रसाद तिम्सिनालाई भारु पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिन कलकत्ताको उच्च अदालतले पश्चिम बंगाल सरकारलाई आदेश दिएको छ ।

मुख्य न्यायाधीश प्रकाश श्रीवास्तव र न्यायाधीश राजषिर् भारद्वाजको संयुक्त इजलासले तिम्सिनाको खातामा तत्काल भारु पाँच लाख जम्मा गर्न आदेश दिएको हो ।

दुर्गाप्रसादको मुद्दामा बहस पैरवी गरेका कोलकाताका वकिल हिरक सिन्हाका अनुसार उच्च अदालतले ७ डिसेम्बर अर्थात मंसिर २१ गते भारतस्थित नेपाली महावाणिज्य दूतावासमार्फत् दुर्गाप्रसादको बैंक खातामा पाँच लाख भारु पठाउन आदेश दिएको हो ।

कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वर पौडेलले अबको ६ साताभित्र सरकारले तिम्सिनाकै खातामा रकम जम्मा गर्नुपर्ने बताए ।
इलामको माई नगरपालिका–१० बाट दुर्गाप्रसाद १९ वर्षको छँदा तोरी बेच्न भन्दै मंगलबारे गएकामा त्यहाँबाट आएको पैसा लिएर उनी काम खोज्दै दार्जिलिङ पुगेका थिए ।

दार्जिलिङमा एक युवतीको हत्या आरोपमा उनी पक्राउ परेका थिए । आरोप प्रमाणित नभएपछि २०७७ चैत ४ गते कोलकाता उच्च अदालतले दुर्गाप्रसादलाई रिहा गर्न आदेश दिएको थियो ।

प्रतिक्रिया