काठमाडौं, २० मंसिर । नेपाली कांग्रेसले १४औं महाधिवेशन अन्तर्गत प्रदेश २ बाहेक अन्य प्रदेशहरुमा अधिवेशन गरेर नयाँ नेतृत्व चयन गरेको छ । महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको चुनावमा ती प्रदेशमा सभापतिको परिणाम पनि आइसकेको छ ।
गण्डकी र लुम्बिनीमा संस्थापनइतर (वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष)को सभापतिमा निर्वाचन भएका छन् । भने बागमती, कर्णाली र सदूरपश्चिम प्रदेशमा संस्थापन (पार्टी सभापति शेरबहादुर देउवा) पक्षले जितेका छन् ।
प्रदेश १ को सभापतिमा देउवा र नेता कृष्ण सिटैलाको समूहबाट उद्धव थापा विजयी भएका छन् । पदाधिकारीमा थापा पक्षकै बर्चस्व रहेको छ । प्रदेश १ मा वरिष्ठ नेता पौडेल र शेखर कोइराला समूहका गुरुराज घिमिरेलाई २ मतले पराजित भए । त्यस्तै बागमती प्रदेशको सभापतिमा देउवा पक्षका इन्द्रबहादुर बानियाँ विजयी भएका छन् । पौडेल पक्षका जगदीश्वर नरसिंह केसीलाई पराजित गर्दै बानियाँ सभापतिमा निर्वाचित भएका हुन् ।
गण्डकी प्रदेशको सभापतिमा भने वरिठ नेता पौडेल पक्षका शुक्रराज शर्मा निर्वाचित भएका छन् । उनले सभापति पदमा ८४ मतअन्तरले प्रदेशको नेतृत्वमा विजयी भएका हुन् । उनले ६१२ मत ल्याउँदा प्रतिद्वन्द्वी देउवा पक्षका अर्जुनप्रसाद जोशीले ५२८ मत ल्याएका थिए ।
त्यस्तै लुम्बिनी प्रदेशको सभापतिमा पनि पौडेल पक्षका अमरसिंह पुन विजयी भएका छन् । देउवा पक्षका भरतकुमार शाहलाई पराजित गर्दै पुन विजयी भएका हुन् । कर्णाली प्रदेश सभापतिमा भने देउवा पक्षका ललितजंग शाही निर्वाचित भएका छन् । उनले संस्थापनइतरका भुपेन्द्रजंग शाहीलाई पराजित परेका हुन् ।
यसैगरी सुदूरपश्चिम प्रदेशको सभापतिमा देउवा पक्षकै वीरबहादुर बलायर विजयी भएका छन् । बलायरको प्यानलै विजयी भएका हुन् । प्रदेशमा कुल मत १००३ खसेको थियो । बलायरले ६८८ मत ल्याउँदा प्रतिस्पर्धी नारायणदत्त मिश्रले २८० मत्र मात्र ल्याए । प्रदेश २ मा भने महाधिवेशन पछिमात्र अधिवेशन हुने भनिएको छ ।